इटहरीः जाडोको समयलाई लक्षित गरी नेपाल रेड्क्रस सोसाइटी उपशाखा इटहरीले विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको छ ।

जाडोको कारण विद्यार्थीहरुको पठनपाठनमा समस्या नहोस् भनेर नेपाल रेड्क्रस सोसाइटी इटहरीले ५ सय ५० जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको हो । जाडोको समयमा वालवालिकाहरु प्रभावित हुने गरेको कारण स्वीटर वितरण गर्दै आएको रेड्क्रड सोसाइटी इटहरीका सभापति विमल पौडेलले वताए । आवश्यकताका आधारमा विद्यार्थीहरु छनौट गरी रेड्क्रसले विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको उनले बताए ।

विपन्न वर्गका वहुसंख्यक विद्यार्थीहरु अध्ययन गर्ने प्रगति टोल बाल बिकास केन्द्र, शान्ति आधारभुत विद्यालय, कबिर माध्यमिक विद्यालयमा स्वीटर वितरण गरेको हो । जाडो मौषममा लगाउने न्यानो कपडा पाएपछि विद्यार्थीहरु पनि उत्साहित बनेका छन् । विभिन्न व्यक्ति र दातृ संस्थाहरुको सहयोग जुटाएर स्वीटर वितरण गरिएको पौडेलले बताए । नेपाल रेड्क्रस सोसाईटी उपशाखा इटहरीले विद्यार्थीहरुको निःशुल्क आखा जाच गर्ने व्यवस्था समेत मिलाएको छ ।