सोलुखुम्बु : जिल्लामै पहिलो पटक सामुदायिक वन जोगाउने उद्देश्यले ग्याँस सिलिण्डर र चुलो वितरण गरिएको छ । सोलुदूधकुण्ड नगरपालिका–२ स्थित मोपुङ सामुदायिक वन कार्यालयले स्थानीय उपभोक्तालाई ती सामग्री वितरण गरेको हो ।
छयालीस घरधुरी उपभोक्तालाई निःशुल्क सिलिण्डर र सशुल्क चुलो वितरण गरिएको वन उपभोक्ता समितिका उपाअध्यक्ष दावा शेर्पाले जानकारी दिए । उपभोक्ता समितिको आन्तरिक स्रोतमार्फत ४६ घरधुरीलाई रु एक लाख ५५ हजार बराबरको ग्याससहितको सिलिण्डर प्रदान गरिएको उपाअध्यक्ष शेर्पाले जानकारी दिए । उनका अनुसार बुधबार पहिलो दिन ४० जनालाई वितरण गरिएको छ भने बाँकी ६ जनालाई चाँडै वितरण गरिनेछ । वडालाई धुवाँमुक्त बनाउन र वनजङ्गल जोगाउन सामुदायिक वन कार्यालयले यस्तो काम गरेको उनको भनाइ छ ।
सोलुदूधकुण्डका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले वन जोगाउन र प्रदूषण नियन्त्रणमा यस्ता कार्यले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
ग्यास सिलिण्डर प्राप्त गरेपछि स्थानीयवासी हर्षित भएका छन् । दाउराको खपत कम गर्नका लागि सामुदायिक वनले लिएको नीति अरूले पनि सिक्न आवश्यक रहेको उपभोक्ता ग्याल्जेन शेर्पाले बताए ।