पथरी : विकास, समृद्धि र समाज रुपान्तरणको मुख्य बाधकको रुपमा लागू औषध र मदिरा सेवन मुख्य बन्दै गएको बक्ताहरुले बताएका छन् ।

गृह मन्त्रालयको संयोजनमा मोरङको पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा शुक्रबार भएको लागू औषध निषेध तथा मदिरा नियन्त्रण सम्बन्धी सचेतना एवं अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सो कुरा बताएका हुन् ।
कार्यक्रममा मोरङ जिल्ला प्रमुख अधिकारी रमेशप्रसाद केसी, जिल्ला प्रहरी प्रमुख एस.पी. मनोज केसी, उच्चस्तरीय लागू औषध नियन्त्रण राष्ट्रिय निर्देशन तथा समन्वय समितिका सदस्य प्रकाश राई, नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट लगायतले बोलेका थिए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी निरीक्षक कमल वज्रगाईले लागू तथा मदिरा औषध सेवन बारे रिपोर्ट प्रस्तुत गरेका थिए । लागू औषध दुव्र्यासन, मादक पदार्थ सेवन, सवारी दुर्घट्ना, आत्महत्या महिला तथा बालबालिका हिंसा लगायतका समस्याहरु रहेको रिपोर्ट प्रस्तुत गरेका थिए ।

इलाका प्रहरी कार्यालयमा गएको आर्थिक वर्षमा महिलासँग सम्बन्धीत २०, जवरजस्ति करणी ११, लागू औषध ४, मदिरा सेवन गरी सवारी चलाएको बारे ९० वटा मुद्धा चलाएको प्रनि बज्रगाईले रिपोर्ट प्रस्तुत गरेका थिए । यो बर्ष बालबालिका १३ जना हराएको प्रस्तुत भएको थियो । नगरमा ५१.७२ प्रतिशत आदिवासी जनजाति, ३३.३३ प्रतिशत, ब्राम्हण—क्षेत्री, दलित ११.६६, मुस्लिम ०.१६, तराईबासी अन्य सहित २.५५ प्रतिशत जनसख्या रहेको प्रनि बज्रगाईले बताए ।
विभिन्न घट्नामा मुद्दा चलाउने र प्रहरीको सम्पर्कमा आउनेक्रम बढेको ब्रजगाईले बताएका थिए । शैक्षिक स्तर र जनचेतना बढेकाले प्रहरीमा उजुरीको संख्या बढ्दै गएको उनले बताए ।
मोरङ जिल्ला प्रमुख अधिकारी रमेशप्रसाद केसीले विकास र संमृद्धिको बाधक गरिवी, बेरोजगारसँगै लागू औषध तथा मदिरा सेवन साथै ओसारपसार रहेको बताए ।

जिल्ला प्रहरी प्रमुख एस.पी. मनोज केसीले प्रहरी बढिभन्दा बढि जनतासँग मिलेर काम गर्न चाहेको बताए । जनतासँग राय सुझाव र सुरक्षा सम्बन्धी जनचेतना दिन मोरङमा ‘जनतासँग चिया कार्यक्रम’ सञ्चालन भइरहेको बताए ।
उच्चस्तरीय लागू औषध नियन्त्रण राष्ट्रिय निर्देशन तथा समन्वय समितिका सदस्य प्रकाश राईले लागू औषध र मदिरा सेवन तथा ओसारपसार समाजवादको मुख्य दुस्मन रहेको बताए । नेपालको नयाँ संविधानले समाजवाद स्थापना गर्ने भनेपनि लागू औषध नियन्त्रण नभएसम्म त्यो पुरा नहुने राईको भनाइ थियो ।