धरान: वाक कला प्रस्तुत गर्नुपर्ने चर्चित कार्यक्रम पब्लिक स्पिकर नेपाल सिजन २ को उपाधि धरानका दृष्टिविहिन तथा फरक क्षमता भएका युवा रमेश प्रसाईंले जितेका छन् ।

‘अब बोल्छ नेपाल’ भन्ने मूल नाराका साथ एपीवान एचडी टेलिभिजनबाट प्रशारण भइरहेको राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता पब्लिक स्पिकर नेपालको उपाधि रमेशले हात पारेका हुन् । रमेश धरान १५ स्थित पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयबाट शिक्षा लिएका युवा हुन् । धरानको गणतन्त्र एफएफमा पनि कार्यक्रम प्रस्तोता रहेका उनी सामाजिक सञ्जालमा पनि निक्कै चर्चित छन् । उनी प्रखर वक्ताकारुपमा परिचित छन् । सामाजिक सञ्जाल फेसबुक लाइभ र यु ट्युबमा उनले व्यक्त गरेका विचारहरु भाइरल बनेका छन् । 

रमेशले प्रतियोगीताको प्रमुख उपाधिको साथै पब्लिक स्पीकर नेपाल २ को पब्लिक च्वाइस अवार्डसमेत हात पारे। त्यसैगरी काठमाडौका प्रनव काफ्ले प्रथम उपविजेता र काठमाडौंकै मानसी ठाकुरले द्वितिय उपविजेताको उपाधि हात पारे। कार्यक्रममा विजेता, प्रथम उपविजेता र द्वितिय उपविजेतालाई क्रमशः नगद पुरस्कार स्वरुप तीन लाख, दुई लाख र एक लाख लाख रुपैंया पाए ।

अन्तिम चरणमा देशका विभिन्न १२ स्थानमा आयोजित अडिसनमा सहभागिता जनाएका करीब ११०० युवाहरुबाट छनोटमा पर्न सफल ६ जनाले पसशक्त प्रस्तुति दिएका थिए । महानायक राजेश हमाल, लैंङ्गिक तथा विकास विज्ञ सरु जोशी श्रेष्ठ, संविधानविद् डा. भिमार्जुन आचार्य, एलसीसीआई नेपाल संस्थाका चिफ अपरेटिङ्ग अफिसर डा.रोशन राठीले कार्यक्रमको विभिन्न चरणमा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

तस्बिर स्रोत:अन्नपुर्णपोष्टडटकम