सप्तरीः सप्तरीमा एक किशोरीको अर्धनग्न शव फेला परेको घटनामा प्रहरीले उनकै बुबालाई पक्राउ गरेको छ ।

बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा गत सोमबार राति घरमा भेटिएको थियो । घटनाको अनुसन्धान गर्न प्रहरीले उनको बुबा ४५ वर्षीय तुरुन्तलाल बडहीलाई पक्राउ गरेको छ । मृतककी आमासमेत फरार रहेकाले घटना थप शंकास्पद भएको र उनको खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक सुरेन्द्रकुमार श्रेष्ठले बताए ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार भित्रबाट चुकुल नलागेको कोठाको भित्ता छेउमा खाटमुनि लडेको शव अर्धनग्न अवस्थामा भेटिएको थियो । साथै, मृतकको शरीरको केही भागमा चोटपटक लागेको दागसमेत देखिएकाले प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ । तुरुन्तलालले हत्या गरेको अस्वीकार गरेपनि सामान्य कुटपिट गरेको भने स्वीकारेका छन् ।

प्रहरीका अनुसार भारतमा विवाहिता दिदीका देवरसँग प्रेम गरिरहेकी सरिताले घरपरिवारले मञ्जुरी नदिए पनि प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि आफूहरूले सरितालाई कुटपिट गरेको बुबा बडहीले स्वीकारेका छन् । शव परीक्षणका लागि मंगलबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । शव परीक्षण रिपोर्ट र अन्य आवश्यक अनुसन्धानपछि सत्यतथ्य नजिक पुग्न सकिने प्रहरी निरीक्षक श्रेष्ठले बताए ।