पथरी: पाँच वर्ष अघि पथरीशनिश्चरे २ का राजेश धिमाललाई जिल्ला अदालत मोरङ्गले जवरजस्ती करणीको मुद्दामा ११ वर्षे सजाय फैसला ग¥यो । अदालतले सजाय फैसला गरेपछि फरार रहेका धिमाललाई पथरी प्रहरीले पुषको तेस्रो हप्ता पक्राउ ग¥यो । हाल विराटनगर कारागारमा सजाय भोगिरहेका धिमालले बलात्कारको मुद्दामा सजाय पाइरहेका छन् ।

डाका मुद्दा लागेका पथरीशनिश्चरे ७ का विजय रिमाल र प्रेम सुव्वा पनि मुद्दा फैसला भएको ४ वर्षसम्म फरार भए । अदालतले सजाय तोके पछि फरार भएका उनीहरुलाइ पुषकै तेस्रो हप्ता पथरी प्रहरीले पक्राउ ग¥यो । प्रहरीको सक्रियतामा पक्राउ परेका उनीहरु अहिले विराटनगर कारागारमा सजाय भोगीरहेका छन् । डाका मुद्दामा उनीहरुलाई अदालतले ६ वर्ष कैदको सजाय फैसला गरेको थियो ।

पुष १५ पछिको १ महिनामा मात्रै इलाका प्रहरी कार्यालय पथरीले विभिन्न अभियोगमा सजाय फैसला भएका २६ वटा मुद्दाका आरोपीलाईलाई पक्राउ गरेको छ । विभिन्न मुद्दा लागेर अदालतले सजाय फैसला गरेपनि फरार सुचिमा रहेका उनीहरुलाई पक्राउ गर्ने अभियान सुरु गरेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कमल वजगाँइले बताए । बलात्कार, डाँका, सवारी ज्यान, वन मुद्दा, लागुऔषध, बहुविवाह र अन्य आरोपमा सजाय फैसला भई फरार सुचीमा रहेकालाई पक्राउ गरिएको उनले जानकारी दिए ।

सवारी ज्यान मुद्दा लागेका ६ जना, जवरजस्ती करणीका १, डाका मुद्दाका २, वन मुद्दाका ६ र लागुऔषध कारोवारका ६ जनालाई यो अवधिमा पक्राउ गरेको प्रहरीले जनाएको छ । 'दण्डहिनता नबढोस् भनेर प्रहरीले सर्तकता अपनाएको हो,'बजगाईले भने । फरार अपराधीलाई पक्राउ गरेर सजाय दिलाउन प्रहरीले तत्परता देखाएको छ । जसका लागी धुमुवा र सादा पोसाकका प्रहरी परिचालित गरिएको छ ।

गत वर्षको स्थानीय तहको चुनावमा नेपाली काग्रेसबाट वडा अध्यक्षको उम्मेदवार बनेका एक व्यक्ती प्रहरीको फरार सुचीमा रहेको खुलेको छ । पथरीशनिश्चरे ७ बाट उम्मेदवार बनेका मणी कुमार लिम्वु लागुऔषध कारोबारमा सजाय पाएर फरार भएका थिए । लागुऔषध कारोबार र थुनुवा भगाएको आरोपमा सजाय फैसला भए पनि लिम्वु प्रहरीको फरार अभियुक्तको सुचीमा रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक बजगाइले बताए ।

लिम्वुलाई लागुऔषध मुद्दामा १ वर्ष ११ महिना र थुनुवा भगाएको मुद्दामा २ वर्ष १० महिना जेल सजाय तोकिएको थियो । जेल सजाय तोकिएपनि उनी फरार रहेका थिए । फरार रहेको अवस्थामा नै नेपाली काग्रेसले वडाअध्यक्षको टिकट दिएको थियो । फरारको सुचीमा रहे पनि उनीलाई राजनितीक संरक्षणमा प्रहरीले पक्राउ गर्न सकेको थिएन । गत पुषको अन्तिम साता पथरी प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि सो रहस्य खुलेको हो । हाल विराटनगर कारागारमा जेल सजाय भुक्तान गरिरहेका लिम्वुलाई प्रहरीले उनको घरै वाट नियन्त्रणमा लिएको थियो । यता प्रहरीले वन मुद्दामा ५ महिना २३ दिन सजाय पाएका पथरीका फर्निचर व्यावसायी मणीकलाल श्रेष्ठलाई समेत पक्राउ गरेको छ । पथरीमा फर्निचर व्यावसाय गरिरहेका श्रेष्ठ समेत फरारको सुचीमा रहेका थिए ।