धरान: इलाका प्रहरी कार्यालय धरानको हाताभित्र निर्माणाधिन नमुना हिरासत भवन (थुनुवा घर)को निर्माण कार्य कम्तीमा २० प्रतिशत पूरा भएको छ ।

भवनको सोमबार पहिलो तल्ला ढलान कार्य सम्पन्न भएसँगै कम्तीमा २० प्रतिशत काम पूरा भएको निर्माण समितिले जनाएको छ । यो भवनको पहिलो तला सोमबार उच्चतम प्रविधि आरएमसि प्रविधिमार्फत ढलाई गरिएको थियो । यो प्रविधि चितवन जिल्लादेखि पुर्व पहिलो पटक धरानस्थित मनोकामना आरएमसिले ल्याएको थियो । सोही प्रविधिलाई प्रयोग गरी हिरासत भवनको पनि पहिलो तला ढलाई गरिएको हो । यो प्रविधिले गुणस्तरीय निर्माण कार्य हुनुका साथै १२ घण्टा समय लाग्ने कामलाई ४ घण्टामा नै सक्ने गर्छ । मानवीयरुपमा ढलाई हुदा हुने त्रुटीहरु यो प्रविधिबाट हुदैन, जसले गर्दा वलियो र गुणस्तरीय संरचना बन्छ ।

इलाका प्रहरी कार्यालयमा करिब ४० जना क्षमताको थुनुवा कक्षमा दोब्बर भन्दा बढी थुनुवाहरु राख्नुपर्ने बाध्यता छ । सामान्य झैझगडादेखि विभिन्न गम्भीर आरोप लागेका हरु पनि एकै ठाउँमा राख्नुपर्ने बाध्यता छ । साथै, विभिन्न रोग लागेका तथा स्वास्थ्यमा समस्या भएकाहरुलाई एकै कोठामा कोचिएर बस्नु पर्दा रोग सर्ने खतरा पनि हुने गर्छ । गर्मीको समयमा त झन् थुनुवाहरुको अवस्था दयनीय हुन्छ । यही समस्यालाई समाधान गर्न जनसहभागितामा नेपालकै नमुना हिरासत भवन धरानमा निर्माण भइरहेको छ ।

51295920_2003555936398220_2

यो हिरासत भवन अढाइ तल्लाको हुनेछ । जसमा ८ वटा कोठा हुनेछ । ती मध्ये एउटा कोठा सुरक्षाकर्मी बस्ने हुन्छ भने अन्यमा अलग अलग प्रकृतिका थुनुवाहरुलाई राखिनेछ । यो हिरासत भवन कुल २ करोड ७८ लाखमा लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भवन निर्माण समितिका संयोजक मिनकुमार सुब्बाले बताए । हालसम्म ३४ लाख रुपैयाँ खर्च भइसकेको उनको भनाई छ । दाताहरुबाट अहिलेसम्म ३८ लाख रुपैयाँ हाराहारी रकम संकलन भएको पनि सुब्बाले बताए ।

हिरासत भवन एक बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, भवन निर्माणको शुरुवातमा नकरात्मक प्रचार बढी भएपछि केही समय काममा अवरोध भएपनि अहिले निर्वाधरुपमा निर्माण कार्य भइरहेको समितिले जनाएको छ । ‘शुरुमा सामाजिक सञ्जालहरुबाट पनि नकरात्मक प्रचार भयो, सबैले हल्लाको भरमा अर्नगल प्रचार गरिदिए । पछि सबैले वास्तविकता बुझ्दै गए, परिबन्दले होस वा अपराध नै गरेर किन नहोस्, हिरासतमा पुग्ने हाम्रै धरानका दाजुभाई, दिदीबहिनीहरु हुन्छन्, उनीहरुलाई न्युनतम मानवीय सुविधा भएको थुनुवा कक्ष होस् भन्ने उद्देश्यले शुरु गरेका हौ,अब समयमा नै सम्पन्न गछौं,’सयोजक सुब्बाले भने ।

51791328_378876439606991_20

ठेकेदार कम्पनी निशान निर्माण सेवाका नरेश मगरले करिब २० प्रतिशत काम पूरा भएको बताए । ‘२० जति काम सकिएको छ, तोकिएकै समयमा काम सम्पन्न गर्नको लागि लागिपरेका छौं,’उनले भने । सोमबार हिरासत भवनको धरान उपमहानगरपालिकाकी कार्यबाहक प्रमुख मञ्जु भण्डारी सुबेदी, संघीय प्रहरी इकाइ कार्यालय धरानका प्रमुख एसएसपी सरद खत्री, इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले समेत अनुगमन गरेका थिए । हिरासत भवनको गत साउन १४ गते प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्कीले शिलान्यास गरेका थिए ।