इलामः लागु औषध विरुद्ध सचेतना अभिवृद्धिका साथै घरेलु हिसां अन्त्य र वालविवाह विरुद्ध जनचेतना जगाउने उद्देश्यले इलामको चुलाचुलीमा तीन दिने तालिम शुरु भएको छ ।

चुलाचुली गाउँपालिका वडा नम्वर २ को आयोजना तथा उद्यमशिल महिला जागरण केन्द्रको संयोजनमा तालिम शुरु भएको हो । गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईको प्रमुख आतिथ्यता तथा उद्यमशिल महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता उप्रेतीको अध्यक्षतामा सुरु भएको तालिममा लागु औषध विरुद्ध जनचेतना, घरेलु हिंसा र वालविवाह अन्त्यका विषयमा सहजिकरण गरिदै छ ।

त्यसैगरी तालिममा माइन्युट लेखन कसरी गर्ने भन्ने विषयमा समेत सहभागीहरुलाई जानकारी गराइने उद्यमशिल महिला जागरण केन्द्रकी विजया प्याकुरेले जानकारी दिइन् । तालिममा लागुऔषध विरुद्ध आस्था फाउण्डेशनका अध्यक्ष चन्द्र वराल, शान्ता पाठक र विरेन्द्र अधिकारी लगायतले सहजिकरण गरिरहेका छन् । विभिन्न पेशा व्यवसायमा आवद्ध ९० जनाको सहभागिता रहेको तालिम उद्घाटन सत्रमा गाउँपालिकाकी उपाध्यक्ष निर्मला दाहाल, आयोजक वडा नम्वर २ का अध्यक्ष रणवहादुर लिम्वु लगायतको सहभागिता रहेको थियो ।