काठमाडौं : वैदेशिक रोजगारीका लागि भारत पुगेका १७९ नेपाली कामदारलाई बुधबार भारतबाट उद्धार गरिएको छ ।

रोजगारीका लागि नेपालका विभिन्न जिल्लाबाट भारत पुगेका नेपालीलाई मनिपुरको इनफाल पु¥याइएको थियो । उद्धार गरिएकामा ३२ पुरुष र १४७ महिला रहेको प्रहरीले जनाएको छ ।

भारतीय प्रहरीको सहयोगमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका सहचरी, नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश अधिकारीको टोलीले बुधबार उनीहरूलाई उद्धार गरेको थियो ।

उद्धार गरिएकाहरूलाई नेपाल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यसका लागि आवश्यक प्रक्रिया भइरहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय नेपाली कामदारलाई तेस्रो मुलुक पु¥याउने सजिलो ट्रान्जिट पोइन्टका रूपमा भारत विकसित हुँदै गएको छ । खुला सिमाना तथा बिनाभिसा सहज आवतजावत गर्न सकिने भएकाले मानव तस्करहरूका लागि भारत सजिलो ट्रान्जिट पोइन्टका रूपमा विकसित हुँदै गएको हो ।