विर्तामोड : झापाको अर्जुनधारा नगरपालिका वडा नं. १,२ र ३ लाई लक्षित गरी एकिकृत घुम्ति शिविर सम्पन्न भएको छ ।
अर्जुनधारा नगरपालिकाको आयोजना जिल्ला प्रशासन कार्यालय झापाको संयोजनमा एकिकृत घुम्ति शिविर सञ्चालन भएको हो ।
शिविरमा वडा नं. १,२ र ३ का करिव २५ सय आम सर्वसाधारण नागरिकहरुले सेवा लिएका छन् । शिविरमा नागरिकता वितरण, फोटो सहितको मतदाता नामावली संकलन, निशुल्क आँखा शिविर, साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा आयोडिन युक्त नुन वितरण, मानव स्वास्थ्य शिविर, आयुर्वेद स्वास्थ्य शिविर, ससस्त्र प्रहरीवल हेडक्वाटर झापा २ नम्वर गणबाट विपद व्यवस्थापनका लागि नागरिकहरु समक्ष प्रविधिको प्रश्तुती, सर्प दंश प्राथमिक उपचार विधिको जानकारी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापा वाट पशु स्वास्थ्य तथा वाँझोपन निवारण शिविर, कृषि ज्ञान केन्द्र झापाबाट घुम्ती बाली उपचार शिविर, माटो परिक्षण लगायतका सेवाहरु प्रवाह भएका थिए ।

अर्जुनधारा नगरपालिकाका प्रमुख तथा मेयर हरिकुमार राना र जिल्ला प्रसासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी जनक राज दाहाल, उपमेयर कमला खतिवडा, वडा नं. ३ का वडा अध्यक्ष जिवकुमार भण्डारीबाट नागरिकता वितरण गरेर शिविरको उद्घाटन गरेका थिए । नागरिकहरुलाई घर घरमा सेवा प्रवाह गर्ने उद्देश्य राखेर शिविर सञ्चालन गरेको वताउदै अर्जुनधारा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष जिवकुमार भण्डारीले बताए । स्थानिय सरकार नागरिकहरुका घर दैलोमा आएको अनुभुति गराउदै सहज तवरले सेवा प्रवाह गर्न शिविर सञ्चालन गरेको बताए ।
आफुलाई आँखाको समस्या परेको तर आँखा अस्पताल जान नसकेको वताउदै अर्जुनधारा ३ का युवराज दुलालले घर आँगनमै आएको शिविरमा जाँच गर्न पाउँदा खुसी व्यक्त गरे । सोही मौकामा छोराको फोटोसहितको मतदाता नामावली पनि बनाउन पाएको उनले बताए । अर्जुनधारा ३ कै अर्का स्थानीय नागरिक पुष्पलाल वाँस्कोटा पनि आँखाको उपचारसँगै नातिनिको नागरिकता वनाउन सहज भएकोमा दंग थिए ।
स्थानिय जनता माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालित शिविरबाट नागरिकहरुलाई जिल्ला धाउनु पर्ने झन्जटबाट मुक्ति मिलेको प्रधानाध्यापक जय प्रकाश भण्डारीको भनाइ छ । त्यसैगरी जनप्रतिनिधि निर्मला घिमिरेले शिविरको वारेमा ब्यापक प्रचारप्रसार गरेको वताउदै स्थानिय नागरिकले भरपुर फाइदा उठाउने विश्वास ब्यक्त गरिन् ।