इटहरी : इटहरी फुड फेस्टिबलमा हेलि टुर र हात्तीसँग सेल्फी खिच्न पाएपछि दर्शकको संख्या उल्लेखनीय मात्रामा बढेको आयोजक होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले बताएको छ ।

पराजुलीले भने, ‘हामीले पाथीभरा दर्शनका लागि ६ फ्लाइट मात्रै सोचेका थियौँ तर १५ फ्लाइट सम्म उडान गरिसकेका छौँ ।’ उनका अनुसार आँफूले सोचेअनुरुप भन्दा बढी मात्रामा धार्मीक पर्यटकहरु हेलि टुरमा आएको हेलि अझै केहीदिन राख्ने बताए । सिटि टुरका लागि पनि पर्यटकको संख्या बढेको उनले बताए । धार्मीक पर्यटक बढी रहेछन् पराजुलीले भने, ’दैनिक ५ हजार भन्दा बढी दर्शक आउने गरेको छ ।’ उनका अनुसार हात्ती हेर्ने र अर्नाको प्रतिमा साथै गुराँसको प्रतिमाले आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ ।

कोशीटप्पुमा हात्ती चढेर अर्ना हेर्न जाने सन्देश दिनका लागि हात्ती र अर्ना राखेका हौँ उनले भने, हामीले मंगलबारसम्म मात्रै हात्ती राख्ने भनेका थियौँ, तर दर्शकको मन तानेकाले फेस्टिबलभरी नै राख्ने भयौँ । विशेषगरि विद्यार्थीमा हात्तीको क्रेज बढेको उनले बताए । यहाँको पर्यटनको विकास गर्नका लागि सरकारको विशेष ध्यान जानु जरुरी रहेको उनले सुनाए । निजी क्षेत्रले मात्रै पर्यटनको विकास गर्न सम्भव नरहेको बताउँदै उनले भौतिक पूर्वाधार निर्माण साथै सडक निर्माणमा सरकारको विशेष ध्यान जानु जरुरी रहेको औल्याए । बाह्य पर्यटक भन्दा पनि आन्तरिक पर्यटकले नै यहाँको पर्यटन क्षेत्र धानेको बताउँदै उनले राज्य पक्षको भौतिक निर्माणमा ध्यान जानु आवश्यक रहेको बताए । ३ गतेसम्म सञ्चालन हुने फेस्टिबल केही दिन थप हुने बताइएको छ । आज बुधबार साँझ मेलिना राईको प्रस्तूती रहनेछ ।