धरान: नेपाली संगीतिक क्षेत्रका लोकप्रिय गायक दीप श्रेष्ठले आफु संगीत क्षेत्रमा लागेको ५० बर्षको अवसर पारेर आफ्नो गृह नगरमा सांगीतिक कार्यक्रम गर्ने भएका छन् ।

फागुन ४ गते शनिबार साँझ धरान १८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशहरा हलमा आयोजना हुने कार्यक्रमको नाम दीप श्रेष्ठ स्वर्णिम साँझ २०१९ राखिएको छ । नेपाल क्लब हङकङको आयोजना तथा सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा स्वर्णिम साँझ हुन लागेको हो । गायक श्रेष्ठले आफ्नो सांगीतिक समुहसहित आफ्ना नयाँ तथा पुराना गीतहरु गाएर ५० औं बर्ष सांगीतिक उत्सव धरानबासीहरुसँग मनाउनेछन् ।

धरानका स्थायी बासिन्दा रहेका गायक श्रेष्ठले १४ बर्षको उमेरदेखि नै विभिन्न सांस्कृतिक तथा सांगीतिक कार्यक्रमहरुमा भाग लिइरहन्थे । यसैक्रममा २०२५ साल पुष महिनामा साँस्कृतिक कार्यक्रम लिएर धरानबाट काठमाडौँ पुगेका श्रेष्ठले राष्ट्रिय नाचघरमा तत्कालिन राजा महेन्द्रको सामु गीत गाउने अवसर पाएका थिए । उनको गायन कलाबाट प्रभावित बनेर राजा महेन्द्रले तत्कालै आफुले मन लागे जति गीत रेडियो नेपालमा रेकर्ड गर्ने व्यवस्था गरिदिएका थिए । त्यो समयमा रेडियो नेपालमा पालो कुर्नु पर्ने समयमा उनले म पत्थरको देउता होइन..लगायत ६ वटा गीतहरु रेकर्ड गराए, जुन अहिले पनि उतिकै लोकप्रिय छ ।

Deep-Shrestha

त्यसपछि गायक श्रेष्ठले कहिल्यै पछाडि फर्कनु परेन । २०७५ साल आइपुग्दा उनको सांगीतिक आरोहअवरोह ५० बर्ष लागिसकेको छ । म त दुरदेखि आए, बिधुवाको सिउँदो, हर रात सपनीमा, मेरो आँखामा, बितेका कुराले, कति कम्जोर रहेछ भाग्य, झिरमा उनिनु, भन्थिन मेरी उनी, साइँलीबारी चिया बारीमा, हुँ यात्री म एउटा...लगायतका थुप्रै उनका गीतहरु कालजयी बनेका छन् ।

२०६७ सालमा धरान सरोकार समाजको आयोजनामा काठमाडौँमा धरानको खानेपानी समस्याको समाधानको लागि समेत कार्यक्रम गरेका थिए । स्वर्णिम साँझमा उनलाई बिशेष सम्मान समेत गरिने आयोजकले जनाएको छ । गायक श्रेष्ठको सांगीतिक क्षेत्रमा योगदान दिएको ५० औं बर्ष पुगेको अवसर पारेर गत डिसेम्बर महिनामा हङकङमा नि भव्य कार्यक्रमसहित गायक श्रेष्ठलाई सम्मान गरिएको थियो ।