काठमाडौँ : देशभर शुक्रबारको मौसम सामान्यतया बदली रहने र अधिकांश स्थानमा हल्का वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विशेष गरी पश्चिमी भूभागका अधिकांश स्थानमा र मध्य तथा पूर्वका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका हुन् ।
देशका उच्च पहाडी र हिमाली भेगका अधिकांश स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावले शनिबारसम्म बदली र वर्षाको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौमसविद् राजु प्रधानाङ्गले कमजोररुपमा विकसित भएको पश्चिमी वायुको प्रभावले बदलीसँगै हल्का वर्षा गराउने बताए । उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म जारी रहने र आइतबारदेखि मौसममा सुधार आउने उनले बताए ।
अघिल्लोपटक देखापरेको पश्चिमी वायुले तीन दिनसम्म देशैभर बदली र वर्षा गराएको थियो । उक्त प्रणाली कमजोर भएको चारदिनमै पुनःपश्चिमी वायु नेपालको आकाशमा देखापरेको हो ।