ताप्लेजुङःकर्तव्य ज्यान मुद्दामा छ वर्षदेखि फरार अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित लिङ्तेपका २५ वर्षीय हिमाल भनिने सागर केदेम रेहका छन् । विसं २०६९ मा मेरिङ्देनकै खाम्लुङमा विवाहमा गएकी १४ वर्षीय बालिकालाई केदेमले जबर्जस्ती करणी गर्ने प्रयास गरेका थिए । पीडित बालिकाले प्रतिकार गरेपछि उनलाई कुटपिट गरी मरणासन्न अवस्थामा छाडेर केदेम फरार थिए ।

सोही समयमा उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो । पीडित बालिकाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएर घर फर्किएकी थिइन् । तर, ६ महिनापछि सोही घाउचोटकै कारण बालिकाको मृत्यु भएपछि मुद्दा कर्तव्य ज्यान शिर्षकमा परिणत भएको थियो । सोही मुद्दामा मंगलबार प्रहरीले लुकीछिपी बसेको अवस्थमा केदेमलाई पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।