इटहरी : ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले आउदै गरेको महाशिवरात्रीको तयारी तीब्र पारेको जनाएको छ । आगामी फाल्गुण २० गते महाशिवरात्रीको अवसर पारेर विविध कार्यक्रमको आयोजना गर्न लागेको इटहरीमा बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
फाल्गुण १९ गते दिउँसो ३ बजेदेखि ब्रम्हकुमारी राजयोग सेवा केन्द्र इटहरीमा भेला भई मोटरसाइकल र्याली, २० गते बिहान १० बजेदेखि बृहत शान्ति पदयात्रा, सोही दिन ११ः३० बजेदेखि आध्यात्मिक प्रवचन तथा विविध सांस्कृतिक कार्यक्रम सुनसरीको गढी गाउँपालिकामा आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो । त्यस्तै ओम शान्ति पिस पार्क गढी गाउँपालिका १ मधेलीमा २२ गते स्वास्थ्य तथा आँखा शिविरको आयोजना गरिने बताइएको छ । ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र प्रदेश १ की प्रमुख गीता दिदीका अनुसार एक सकारात्मक सन्देश प्रवाह गर्नका लागि यो कार्यक्रमको आयोजना बर्षेनी गरिदै आएको छ । ‘यो एउटा शिक्षालय हो मानव जीवनमा सकारात्मक सन्देश दिनु हो,’ उनले भनिन्, ‘घर–घरलाई शान्ति दिलाउने अभियान हो यो, अहिले विश्व नै नकारात्मक कुरातिर मोडिइरहेको छ ।’ उनले नेपालमा १५ सय बढी सेवा केन्द्रले यो कार्यक्रमको आयोजना गर्ने र प्रदेश १ का २२ वटा सेवा केन्द्र मिलेर उक्त कार्यक्रमको आयोजना गर्न लागेको बताईन् ।
१ सय ४६ राष्ट्रमा ईश्वरी ज्ञान फैलिसकेकाले समाजलाई सकारात्मक चिन्तनबाट अगाडि बढाउनुपर्ने बताउदै उनले भनिन्, ‘सकारात्मक चिन्तन भयो भने, घर र समाजमा शान्ति हुन्छ ।’ पत्रकार सम्मेलनमा बिनोद भाई जी ले पहिलो दिन दुई सय बढी मोटरसाइकलले नगरपरिक्रमा गरिने र सकारात्मक जागृति ल्याउनका लागि कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रममा सारदा दिदी, तुलसी भाई जीm दुर्गा भाई जी, नूतन भाई जी लगायतको उपस्थिति रहेको थियो ।