इटहरी:सुनसरीमा माझी समूदायले लदी पुजाको तयारी गरेका छन् । माझी समूदायको संस्कार, लिपी, भेषभुषा तथा मौलिक पहिचान लोप हुँदै गएकाले कोशी (लदी) पुजा यस बर्ष भव्य रुपमा मनाउँन लागिएको आइतबार इटहरीमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।

नेपाल माझी उत्थाान संघ सुनसरीका कार्यवाहक अध्यक्ष घनश्याम माझीका अनुसार सीमान्तकृत जातीमा रहेको माझी जातीको पुख्र्यौली पेशामा संरक्षण रहेको संस्कृति लदि पुजा लोप हुँदै गएकाले आँफूहरुले संस्कृतिको उत्थानका निम्ति यो पटक १३ औँ कोशी पुजा (लदी) कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिए । कुनै पनि समयमा पानीमा डुंगा तार्दा अथवा माछा मार्दा आपत विपद् नहोस् भनेर प्रत्येक बर्षको फाल्गुणको तेस्रो मंगलबार यो पुजा गर्ने प्रचलन माझी समुदायमा रहेको छ ।

यसवर्ष २१ गते बराहक्षेत्र नगरपालिका २ मा यो पुजा भव्य रुपले आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । देशभरीमा ६८ जिल्लामा माझी समूदायको बसोबास रहेको साथै ८३ हजार ७ सय २४ माझी समूदायको बसोबास रहेको बताउँदै नेपाल माझी उत्थान संघका केन्द्रीय महासचिव पदम बहादुर माझीले भने, हामी माझी समूदायले यो पर्वलाई राष्ट्रिय पर्वका रुपमा लिई सार्वजनिक बिदाको रुपमा यसलाई घोषणा गर्नुपर्ने माग गर्दछौँ ।

त्यस्तै, उक्त पर्वलाई सांस्कृतिक संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनका लागि राज्यबाट स्रोत उपलब्ध गराउनुपर्ने माग राखिएको छ । आँफूहरु पटक पटक सम्बन्धित निकायसँग आफ्ना मागहरु पुर्याउँदा पनि बेवास्ता गरिएको उनीहरुको भनाई छ ।

तस्बिर: गुगल