धरान (डेस्क) : आज ग्याल्बो ल्होसार, देशभरका शेर्पा समुदायलगायत वौद्ध धर्मावलम्बीले मनाउदँैछन् ।
शेर्पा समुदायले ग्याल्बो ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउने गर्छन्। भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । आजैदेखि १५ दिनसम्म वुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम गरी मनाइन्छ । नेपालमा तमु, सोनाम र ग्याल्बो गरी तीनवटा ल्होसार मनाउने चलन छ ।

ग्याल्बो ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताले भरिएको नेपाली समाजका चाडपर्व साझा सम्पत्ति भएको बताएकी छन् ।
विविधताले भरिएको नेपाली समाजका यस्ता चाडपर्व साझा सम्पत्ति भएको उल्लेख गर्दै उनले यसले नेपाल र नेपालीबीच बन्धुत्व र पारस्परिक सम्बन्ध बढाउनुका साथै एकाअर्काको संस्कृतिको सम्मानसहित आपसी एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्न सघाउ पुग्ने विश्वास व्यक्त गरेकी छन् ।