धरान: धरान रन समुहद्वारा आयोजित ‘आरती स्ट्रिप्स–सातौं नेवा च्यारिटी धरान १० के रनको तयारी पूरा भएको छ ।

आयोजक समुहले आज बिहिबार पत्रकार सम्मेलन गरी शनिबार विहान ७ बजे हुन लागेको रनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । यसपटक विभिन्न उमेर समुहका करिब ३ हजार ५ सय जना धावकधाविकाले सहभागिता जनाउने अध्यक्ष रोमु राईले बताए । ‘गत वर्ष २४ सय ३४ जना दौडिएका थिए, यसपाली ३५ सयको हाराहारीमा सहभागीहरु हुन्छन्,’अध्यक्ष राईले भने ।

दौड प्रतियोगिता गत बर्ष(छैटौ) संस्करसम्म ८ किलोमिटर मात्र हुन्थ्यो । यसपाली अन्तर्राष्ट्रिय मान्यता अनुसार १० कि.मी दौड हुने अध्यक्ष राईको बताए । १२ वर्षभन्दा मुनिका धावक धाविकाहरुको लागि भने ३ कि.मि. मात्र दौड हुने उनले बताए । आयोजकले प्रचार–प्रसारदेखि आवश्यक तयारी पूरा गरेको बताएको छ । प्रतियोगिताको खुल्लातर्फको महिला र पुरुष पहिलो, दोस्रो र तेस्रो बन्नेले क्रमशः नगद ४० हजार, ३० हजार र २० हजार प्राप्त गर्ने छन् । त्यसैगरी, १२ वर्षभन्दा मुनिका, १२ देखि १६ वर्षसम्मका र ४० वर्षमाथीका भेट्रानको महिला र पुरुषतर्फको पहिलो, दोस्रो र तेस्रोले क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

यसैगरी, धरानका स्थानीय धावक धाविकालाई प्रोत्साहन गदै पहिलो हुने १ जना महिला र १ जना पुरुषलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ । १० के रन पूरा गर्ने २ सय जना धावक धाविकालाई मेडल प्रदान गरिने बताइएको छ । तर, १२ बर्ष मुनिकालाई भने सय जनालाई मात्र मेडल दिइनेछ । खुल्लातर्फ ३ पटकको विजेता तीर्थ पुन, महिलातर्फ गत वर्षको विजेता कान्छीमाया कोजु पनि सहभागि हुनेछन् । दौडबाट जोगिएको रकमले ‘नेवा एजुकेशन फण्ड’ अन्तर्गत धरानका सामुदायिक विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई जाडोको न्यानो कपडा तथा स्टेशनरीका सामग्री प्रदान गर्ने जनाएको छ ।

धरान रनको कारणले देश विदेशमा पनि चिनाउन सफल भएको धरान रन समूहका संस्थापक अध्यक्ष सन्तोष राईले बताए । उनले भने,‘धरानबारे आज सबैतिर राम्रो इमेज बनिरहेको छ, धरानेहरु दौडन्छन्, स्वास्थ्य छन् भन्ने सन्देश छ । युवाहरुमा पनि सकरात्मक उर्जा मिलेको छ ।’

मिरा र मुकुन्दहरीलाई सम्मान

यसवर्ष बरिष्ठ ओलम्पियन धावक मुकुन्दहरी श्रेष्ठलाई सम्मानीत गरिने भएको छ । उनलाई आरती स्ट्रिप्स–धरान १० के रन, सातौं नेवा च्यारिटी २०७५ बाट सम्मान गरिने आयोजकले जनाएको छ । यस्तै, अन्र्तराष्टिस्तरमा चर्चित अल्ट्रा धाविका मिरा राईलाई पनि सम्मान गरिने भएको छ ।


दौड प्रतियोगिताको रुटः

दौड भानुचोकस्थित लोकतान्त्रिक चौतारी भानुचोकबाट पुतली लाइन, दुर्गा चोक, बुद्ध चोक, रत्न चोक, मंगलबारे, कल्याण चोक, पानी ट्याङकी, गणेशमान चोक, रंगशाला हुँदै जिरो पाइन्ट, अमरहाट, रेडक्रस भवन, हात्तिसार, विजयपुर चोकहुँदै, पिण्डेश्वर मन्दिर, चिनियाँ चोक, पुरानो बजार, देशीलाइन हुँदै पुनः भानुचोकमा आएर समापन हुने छ ।