धरान (डेस्क) : सुनसरीको कोशी गाउँपालिका ८ नेहरु पार्कमा शुक्रवार हायस गाडीको ठक्करबाट मोटरसाईकलमा सवार बावुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गमा पश्चिम तर्फ जाँदै गरेको को ३३ प २०५१ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको बा ५ ख ७११६ नम्बरको हायसले दिउँसो सवा ३ बजे ठक्कर दिएको थियो ।
हायसको ठक्करबाट मोटरसाईकलको पछाडी सवार सप्तरी सप्तकोशी नगरपालिका ३ फत्तेपुर बस्ने ६० वर्षीय अम्मर बहादुर थापा र उनको छोरा मोटरसाईकल चालक ३८ वर्षीय मोहनराज थापा घाइते भएका थिए । दुर्घटनामा घाइते दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा गम्भीर घाइते बावुको उपचारको क्रममा दिउँसो ३ः५५ बजे सोही अस्पतालमा मृत्यु भएको हो भने छोराको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
हायस र चालक जिल्ला रामेछाप दुरम्बा गाउँपालिका ७ थापागाउँ बस्ने ४२ वर्षीय राम तामाङलाई प्रहरीले नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।