इटहरी : जनसंख्याको वृद्धिसंगै इटहरीमा सुरक्षा चुनौती थपिँदो छ । यहाँ गुण्डागर्दी गर्ने समूहले गर्दा शान्ति–शुरक्षामा चुनौती थपिएको प्रहरीले निष्कर्ष निकाल्दै पहिलो प्राथमिकतामा राखेर नियन्त्रण गर्ने भएको छ ।

यहाँ राजनितिक दलको आडमै विभिन्न समूहले गुण्डागर्दी गर्दै आएको देखिएको छ । आम नागरिकको शान्ति–शुरक्षा कायम गर्नका लागि गुण्डागर्दी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर प्रहरीले काम गर्दै आएकोमा त्यसलाई निरन्तरता दिने जनाएको हो । शुक्रबार इटहरीमा नयाँ आएका डिएसपी समिरचन्द्र खरेलले पत्रकारसंगको भेटघाटमा गुण्डागर्दी नियन्त्रणका लागि कसैसंग सम्झौता नगर्ने जिकीर गरे । ‘गुण्डागर्दीको नियन्त्रणले मात्र शान्ति सुरक्षा कायम गर्न सहज हुने छ,’ उनले भने, ‘इटहरीमा शान्ति सुरक्षाको चुनौती गुण्डागर्दी रहेको पाइएकोले गर्दा यसैलाई पहिलो प्राथमिकतामा राखेर काम गरिने छ ।’

गुण्डागर्दी गर्नेको जीवनशैली विलासी हुने गरेको छ । उनीहरुको मुख्य आयश्रोत भनेको व्यापारी, जग्गाको कारोबार गर्ने, क्याबिन–रेष्टुरेन्ट र क्रसर उद्योग हुन् । गुण्डागर्दी गर्ने समुहले पैसा असुली गर्ने नयाँ–नयाँ रणनीति अपनाउने गरेका छन् ।

–नागरिक पूर्वेली दैनिकबाट