ओखलढुङ्गा: सिद्धिचरण नगरपालिका–२ चुहानछापका अग्निपीडितलाई सांसद र सरोकारवालाले सहयोग गरेको छ ।
पीडितको अवस्था बुझ्न चुहानछाप पुगेका प्रतिनिधिसभा सांसद यज्ञराज सुनुवार, प्रदेश सांसदद्वय अम्बिरबाबु गुरुङ र मोहन खड्का, नेपाली काङ्ग्रेस नेताद्वय रामहरि खतिवडा र बालकृष्ण दाहालले आर्थिक तथा भौतिक सहयोग गरे । त्यस्तै सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन श्रेष्ठ, चिशङ्खुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्मा, प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानले पनि सहयोग गर्नुभएको पीडितले जनाएका छन् ।

उनीहरुले पीडित परिवारलाई चामल, दाल, नुन, तेल, पानी, सिलिण्डरसहितको ग्यास चुलो, आवास निर्माणका लागि जस्तापाता हस्तान्तरण गरे । नेपाल रेडक्रस सोसाइटीसहितका सामाजिक संस्थाले पनि सहयोग गरिरहेका छन् ।
विपदको अवस्थामा राहत पाउँदा अग्निपीडितले खुशी व्यक्त गरेका छन् । केही दिनअघि भएको आगलागीमा सिद्धिचरण नगरपालिका–२ को ठूलाछाप, चुहानछापका नरेन्द्र कार्की, गोविन्द खड्का, सत्यवती कार्कीसहित आठ परिवारको घर गोठ, लत्ता कपडा खाद्यान्नसहितका सामान जलेर नष्ट भएको थियो ।