इटहरी: विश्व सामाजिक कार्य दिवसको अवसर पारेर मंगलबार इटहरीको जनता बहुमुखी क्याम्पसले विविध कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाएको छ ।
कार्यक्रममा सामाजिक अभियन्ताहरुलाई सम्मान गरिएको थियो । सामाजिक अभियन्ता चन्द्र भण्डारी, इटहरीमा अनाथ आश्रम सञ्चालन गर्दै आएकी गीता गौतम, खिल प्रसाद सिवाकोटी, पब्लिक स्पिकर सिजन २ का बिजेता रमेश प्रसाई र चर्चित गायिका मेनुका पौडेललाई सम्मान गरिएको थियो । उनीहरुलाई खादा र सम्मान पत्रले जनता बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भोजराज श्रेष्ठले सम्मान गरेका थिए ।

विद्यार्थींहरुले आफ्नो खाजा खर्च बापतको रकम कटाएर अनाथ आश्रम सञ्चालन गर्दै आएकी गीता गौतमलाई नगद २० हजार रुपैया समेत सहयोग गरिएको कार्यक्रम संयोजक सोमनाथ घिमिरेले बताए । कार्यक्रममा नेपाली कांग्रेस इटहरीका नगर सभापति हेमकर्ण पौडेलले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनका निम्ति शिक्षकहरुको अहम् भूमिका रहेको बताए । यस्तै, सामाजिक अगुवा रमेश भट्टराईले तीन हजार भन्दा सामाजिक संस्था रहेकाले ती सबैले समाजको उत्थानका लागि काम गरिरहेको बताए । उनले सामाजिक कार्यकर्ता भनेको समाजको सबै तहलाई ठीक गर्ने यात्रामा हिड्नुपर्ने बताए । उनले आवाज खोसिएकाहरु र खुशी लुटिएकाहरुलाई न्याय दिलाउनु सामाजिक अगुवाको भूमिका अह्म हुने बताए ।
सामाजिक अगुवा चन्द्र भण्डारीले पहिलाको सामाजिक सेवा राजनीतितिर होमिने भएको भएपनि अहिले त्यसो नभएको बताए । उनले नगरपालिकाले ट्याङग्रा किनारमा अध्यापन गराउनका निम्ति चौतारो बनाउन समेत कानुनले नदिएको भन्दै पन्छिदै आएकोले राम्रो काम गर्नेलाई धेरै चुनौती रहेको गुनासो गरे । कार्यक्रममाथि प्रकाश पार्दै प्राध्यापक संघ जनता बहुमुखी क्याम्पसका सभापति तथा सामाजिक कार्य विषय शिक्षक अर्जुन उप्रेतीले मानिस आफ्नो लागि भन्दा पनि अरुको लागि बाँच्नुपर्ने बताए । कार्यक्रमकी प्रमुख अतिथि प्रदेश १ की उपसभामुख सरस्वती पोखरेलले समाजमा कुरीतिलाई हटाउनका निम्ति सामाजिक अभियन्ताहरु सक्रिय रहनुपर्ने बताइन् । समाजका बिकृत्तिलाई हटाउन नसकिरहेको भन्दै उनले समाजको निम्ति आँफूहरु समर्पित रहनुपर्नेमा उनको जोडदिइन् ।