धरान: बौद्ध धर्मवलम्बीहरुले विगत ६ बर्षदेखि हुदै आएको मृतकको आत्मा शान्ति पूजा (मानी मोलम) यस बर्ष पनि वृहतरुपमा सम्पन्न गरिएको छ ।
नेपाल तामाङ महिला घेदुङ सुनसरी, श्री हिमालय महायान रिन्छेन् छ्योलिङ बुद्धिष्ट गुम्बा धरानका आङ समूह, गुरुङ आमा समूहको आयोजना तथा बौद्ध दाहसंस्कार धरानको संयोजनमा पूजा सम्पन्न भएको हो । हरेक फागु पुर्णेको दिन मृतकहरुको आत्मा शान्ति र मुक्तिका लागि बौद्धधर्मावलम्वीहरुमा यो पूजा गर्ने परम्परा रहिआएको छ ।

यो दिन भगवान बुद्धले आफुले प्राप्त गरेको ज्ञान र शक्तिको परीक्षामा सफल भई दिवंगत माता मायादेवीको आत्मा कहां कस्तो अवस्थामा छ भनि ध्यान गरी हेरेको विश्वास गरिन्छ । त्यसरी ध्यान गरी हेर्दा बत्तिसकोटी देवता रहेको देवलोकमा पुर्नजन्म लिएको पाएपछि सबै मृतकको यसरी नै स्वर्गवास, वैकुण्ठवास होस्, मुक्ति र शान्ति प्राप्त होस् भनि यस दिनलाई महत्वका साथ मृतकको मुक्तिका लागि प्रार्थना र पूजा गर्ने दिनको रुपमा बौद्धमार्गीहरुले मान्दै आएका छन् ।
नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले तामाङका अनुसार धरान–८ स्थित बौद्धदाह संस्कार परिसरभित्र रहेको छोर्तेन(माने) मा खेन रिम्पोछे तेन्जिङ वाइवा र दर्जनौं लामा धर्म गुरुहरुद्धारा पूजापाठ र प्रवचन समेत गरिएको थियो । पूजामा हजारौं सहभागीहरुले आफ्नो परिवारको दिवंगत सदस्यहरुको नाममा १०८ बत्ति बाल्नुका साथै लुङ्दरहरु गाडेका छन् ।
गुम्वा वा घरमा बनाईएको पूजा कोठा (छोसेम) मा मृतकका परिवारले आफ्नो परिवारको दिवंगत सदस्यको आत्माको शान्तिको लागि पूजा गर्ने परम्परालाई वृहत रुपले सार्वजानिक स्तरमै पूजाको आयोजना गर्नाले फागु पूर्णिमाको धार्मिक महत्व दर्शाउन र बौद्ध धर्मप्रति चेतना एवम् जागरण फैलाउन ठूलो मद्दत पुगेको नेपाल तामाङ घेदुङका सुनसरी अध्यक्ष सुरज लामा पाख्रिनले बताए ।
पूजामा धनकुटा, सुनसरी, मोरङ, झापा, उदयुपुर, भाजेपुर, तेह«थुम लगायतको जिल्लावाट तामाङ, गुरुङ, शेर्पा, नेवार, मगर र थारु समुदायहरुको हजारौंको संख्यामा सहभागिता रहेको नेपाल तामाङ महिला घेदुङ सुनसरीका अध्यक्ष विष्णु मोक्तानले बताए । उनले आगामी वर्षदेखि टाढा टाढाबाट आउने सहभागी तथा भक्तजनहरुको सुविधालाई ध्यानमा राखेर पूजालाई ३ दिनसम्म सञ्चालन गरिने बताए ।