धनकुटा: धनकुटाको महालक्ष्मी नगरपालिका १ नुन्थलामा सोमवार ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

राती साढे ११ बजे कोशी राजमार्ग अन्तर्गत धनकुटाबाट तेह्रथुम तर्फ रड बोकेर जाँदै गरेको को २ त ३१६६ नम्बरको ट्याक्टरको अगाडीको भाग (ईन्जिन) छुट्टिएर भिरबाट २ सय मिटर तल खस्दा चालकको ज्यान गएको हो । दुर्घटनामा ट्याक्टर चालक धनकुटा छथर जोरपाटी गाउँपालिका ५ का ३० बर्षीय जितन घिमिरेको घटनास्थलमा नै मृत्यु भएको हो भने सहचालक २९ बर्षीय रत्न बहादुर गुरुङ गम्भीर घाइते भई उपचारको लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटामा राखिएको जिल्ला प्रही कार्यालय धनकुटाले जनाएको छ ।