धरान: सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी १५ दिने अभियान अन्तर्गत धरानमा बुधबार सञ्चाकर्मीसंग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

जिल्ला ट्राफीक प्रहरी कार्यालय सुनसरी धरानमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । अन्तरक्रिया कार्यक्रममा धरानका सञ्चारकर्मीहरुलाई १५ दिने अभियानमा गरिएको कार्यक्रम र उपलब्धीको बारेमा जिल्ला ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक बाबुकाजी गिरीले जानकारी गराएका थिए । अभियानमा ६ हजार ३ सय ७५ जना सवारी चालक तथा सह–चालकलाई प्रशिक्षण दिइएको उनले बताए । उनका अनुसार १७ हजार २ सय ८० जना सर्बसाधारणलाई प्रशिक्षण गराउनुका साथै ७ सय ८५ जना विद्यार्थीलाई प्रशिक्षण दिइएको थियो । साथै, विभिन्न सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी १६ हजार ४ सय ५० वटा पर्चा पम्प्लेट वितरण गरिएको पनि उनले बताए ।

यसैगरी, २ हजार १ सय ४० साइकल चालकलाई सचेतना गराइएको थियो भने विभिन्न सवारी साधानमा २ हजार ३ सय ५३ वटा रिफ्ल्क्टर स्टिकर टासिएको पनि ट्राफिक प्रहरीले जानकारी दिएको छ । सवारी चालक तथा सहचालकहरुको पहिचानको लागि ३ सय १० वटा पोशाक वितरण गरिएको गिरीले बताए । सुनसरीमा चैत्र १ गतेदेखि शुरु भएको अभियानमा सार्वजनिक सवारी चालक तथा सहचालकलाई पोशाक र सचेतना मुलक पर्चा पम्प्लेट वितरण गरिएको उनले बताए ।

यसैगरी, स्थानीय तहसंगको सहकार्यमा अव्यवस्थित पार्किङ हटाउने, प्याव्सन, एनप्याव्सन र हिसानसँग अन्तरक्रिया तथा अनुगमन कार्यक्रम, सवारी चालकको स्वास्थ्य जाँच, सरोकारवाला निकायसंग अन्तरक्रिया, सार्वजनिक सवारी साधनको अनुगमन, सडक कार्यालय तथा स्थानीय तहसहितको अनुगमन, विवाह पिकनिक, भ्रमण, धार्मिक यात्रामा रहेका सवारी साधनहरुको अनुगमन, ट्राफीक प्रहरीको स्वास्थ्य चेकजाँच, सवारी साधनहरुको मेकानिकल जाँच, घुम्ति प्रशिक्षण कार्यक्रम हालसम्म सम्पन्न भइसकेको छ ।