धरान: ५९ औं विश्व रंगमञ्च दिवस मनाउने क्रममा बुधबार धरानका अग्रज रंगकर्मी, अभिनेता एवं निर्देशक प्रेम सुब्बालाई सम्मान गरिएको छ ।

धरान प्रज्ञा प्रतिष्ठानले सुब्बालाई सम्मान गरेको हो । धरान ९ स्थित होटल रत्ना इनमा आयोजित कार्यक्रममा उनलाई नगदसहित दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष अम्बिका सम्बाहाम्फे र प्रमुख अतिथि एवं भाषाविद् डा.टंक न्यौपानेले सुब्बालाई सम्मान गरेका थिए ।धरानको रंगमञ्चमा सुब्बाको पनि महत्वपुर्ण योगदान रहेको छ । चालिसको दशकमा धरानको रंगमञ्च उर्बर समय थियो । त्यसबेला धरानमा नियमित नाटक मञ्चन हुन्थ्यो । सुब्बा त्यही समयका उम्दा कलाकार थिए । पछिल्लो समय उनी चलचित्र क्षेत्रतर्फ मोडिएका थिए । उनले थुप्रै चलचित्रमा अभिनय, निर्देशन र निर्माताका रुपमा रहेका छन् । ‘उहाँले रंगमञ्च, चलचित्र र समग्र कला क्षेत्रमा पुर्याउनु भएको योगदान स्वरुप थोरै भएपनि सम्मान गरेका हौ,’प्रतिष्ठानका अध्यक्ष सम्बाहाम्फेले भने ।

सम्मानित कलाकार सुब्बाले सम्मानले आफुलाई जिम्मेवारी थपिएको महसुस भएको धारणा व्यक्त गर्दै नयाँ पुस्तालाई डोर्याउनुपर्ने आवश्यकता औल्याए । उनका अनुसार २०४० देखि ४८ सालसम्म धरानमा लगातार नाटक मञ्चन हुन्थ्यो भने त्यसबेला धरानको रंगकर्मको चर्चा राष्ट्रियस्तरमा नै हुने गरेको थियो । ‘त्यसबेलाको धरानको रंगमञ्चको चर्चा राष्ट्रियस्तरमा नै थियो, यहाँ नियमित नाटक मञ्चन हुन्थ्यो,’सुब्बाले भने ।