उदयपुर: उदयपुरको कटारी नगरपालिका ११ स्थित सिरवानी भन्ने ठाउँमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो २ बजे सोलु करिडरको ३२ केभिए प्रशारण लाईनको लागि आरडि ग्रुपले ठेक्कामा लिएको हाई स्टेशन फलामको पोल गाड्न खाल्डो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेको थियो । माटोको ढिस्कोले पुरिएर सोही कम्पनीका कामदार स्थानीय २८ बर्षीय लीला बहादुर बि.क.को घटनास्थलमानै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

त्यसैगरी सोही स्थानका ३० बर्षीय तेज बहादुर बि.क. गम्भीर घाईते भएका छन् भने कटारी नगरपालिका १० का सुर्य प्रसाद खनाल सामान्य घाईते भइका छन् । दुबै जनालाई उपचारको लागि कटारी अस्पताल पठाईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।