धरान : १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको निर्देशनमा १ नम्बर प्रदेशका १४ वटै जिल्लामा प्रहरीले सोमवार जनचेतना मूलक हाते पर्चा विरतरण कार्यक्रमको आयोजना गरेको छ ।

‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत विभिन्न जनचेतनामूलक कार्यक्रमहरु संचालन भईरहेको सन्दर्भमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालको निर्देशनमा १ नम्बर प्रदेशका १४ वटै जिल्लाहरुमा सोमबार सम्पन्न भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका विद्यार्थीहरुलाई लक्षित गरी यौनजन्य हिंसा, लागूऔषध, साईवर क्राईम लगायत ट्राफिक दुर्घटनासँग सम्बन्धित विषयवस्तुहरु बारे जनचेतनामूलक पर्चा वितरण गरिएको हो ।

परिक्षाको समाप्ति संगै केहि समय फुर्सद हुने भएकोले गलत मनोवृत्ती र भावना भएका व्यक्तिहरुको संगत, उक्साहट र बहकावको कारण कुलत तथा बिसंगती तर्फ उन्मुख गराउन सक्ने सम्भावना तर्फ सचेत रहन र फुर्सदको समयलाई रचनात्मकता र सृजनशिलतामा व्यतित गर्ने तर्फ उत्प्रेरित गर्नको लागि उक्त कार्यक्रम गरिएको हो ।

जस अन्तर्गत झापा जिल्लामा १६ हजार, ईलाम ७ हजार, पाँचथर २ हजार ५ सय, ताप्लेजुङ २ हजार ५ सय, मोरङ ११ हजार ९ सय ५०, सुनसरी ८ हजार ७०, धनकुटा २ हजार ८ सय, तेह्रथुम १ हजार ९ सय, संखुवासभा २ हजार ७ सय, भोजपुर ३ हजार ५ सय, उदयपुर ७ हजार ७ सय, खोटाङ २ हजार, ओखलढुंगा १ हजार र सोलुखुम्बु जिल्लामा ७ सय गरी १ नम्बर प्रदेश अन्तर्गतका १४ वटै जिल्लाहरुमा जम्मा ७० हजार ३ सय २० थान पर्चा एसईई परीक्षामा सहभागी विद्यार्थीहरुलाई बितरण गरिएको छ भने ६५ हजार भन्दा बढी विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभांवित हुने देखिन्छ ।