झापा: प्रदेश नम्बर १ सरकारको बिनियोजित बजेटबाट निर्माण हुने इलाका प्रहरी कार्यालय काकरभिट्टाको कार्यालय भवनको आज शिलान्यास भएको छ ।
३ करोड भन्दा बढीको लागतमा निर्माण हुन लागेको भवनको एक समारोहबीच प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत बहादुर कार्कीले शिलान्यास गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै मन्त्री कार्कीले प्रहरीलाई प्रविधि मैत्री र भौतिक पूर्वाधार सम्पन्न बनाउने कार्यमा प्रदेश सरकारले सहयोग अघि बढाएको बताए । साथै, उनले आन्तरिक सुरक्षाको अग्रपंक्तिमा रहने प्रहरी भौतिक, मानसिक र शारीरिक रुपमा सम्पन्न भएमा मात्र आम नागरिकहरुले सुरक्षाको प्रत्याभुति पाउन सक्ने र विकास निर्माणका काममा समेत तिब्रता आउने बताए ।
कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक(डिआइजी) केदार रिजालले सिमा नाकामा खटिने प्रहरीले सारा देशकै सुरक्षा स्थितिको प्रतिनिधित्व गर्ने भएकोले स्रोत, साधन सम्पन्न बनाउन आवश्यक भएको बताए । हाल सिमित श्रोत साधन तथा भौतिक पूर्वाधारमा पनि प्रहरीले सिमामा सुरक्षा प्रदान गर्दै आईरहेको भन्दै डिआइजी रिजालले प्रदेश सरकारको बजेट मार्फत सुबिधा सम्पन्न कार्यालय भवन निर्माण हुनुले कार्य सम्पादनमा थप हौसला मिल्ने बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका झापाका प्रमुख प्रहरी उपरीक्षक दिनेशराज मैनालीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा अन्य सुरक्षा निकायका प्रमुखहरु, उद्योगी ब्यबसायी, समाजसेवी, स्थानीय जन प्रतिनिधीहरु पत्रकारलगायतको उपस्थिति रहेको थियो ।