इटहरी: आइतबार साँझ गएको बिनाशकारी हावाहुरीले बारा र पर्सामा ठूलो जनधनको क्षति भए पनि नेपाल जेसीजले पीडितलाई राहत स्वरुप खाद्यान्न तथा इलेक्ट्रोनिक सामाग्री बितरण गरेको छ ।
करीब दुई लाख भन्दा बढी रकम बराबरको राहत सामाग्री बितरण गरिएको नेपाल जेसीजका अध्यक्ष महेश पौडेलले जानकारी दिए । 'मानबताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो,'उनले भने,'त्यसैले हामीले बिपतमा केही राहत सामाग्री बितरण गरेका हौँ ।' इटहरी जेसीजका उपाध्यक्ष नवीन कटवालका अनुसार अति आवश्यक पर्ने खाद्यान्न चामल, पानी, इलेक्ट्रोनिक सामान, पाल लगायतका सामाग्री बितरण गरिएको हो । जेसीजले बिपत पर्दा जनताको घाउमा मल्हम पट्टी लगाउन राहत बितरण गरिएको उनले बताए ।
राहत बितरण गर्न नेपाल जेसीजका अध्यक्ष महेश पौडेल, रोटरी क्लब अफ इटहरीकि अध्यक्ष शोभा कोइराला, इटहरी जेसीजका उपाध्यक्ष नवीन कटवाल तथा अन्य जेसीज पदाधिकारी लगायतको उपस्थित रहेको थियो । उक्त घटनामा हालसम्म २८ जनाको मृत्यु भएको छ भने ६ सय ६८ जना घाइते थिए । घाइतेको बारा र पर्सास्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।