धरान(डेस्क) : पोखरेली संगीतकर्मी श्रीमान थुलुङको दुर्घटनामा परी मृत्यु भएको छ ।

बुधबार बेलुकी करीब साँढे ९ बजे पोखरा–१२ शितलादेवीमा भएको स्कूटर दुर्घटनामा उनको मृत्यु भएको हो । थुलुङ्ले चलाएको ग १२ प ६७९ नम्बरको स्कूटर पर्खालको रेलिङमा ठोक्किएर उनी नहरमा खसेका थिए । पानीको भेलले बगाएको एक घण्टापछि उनको शव कुँडहरको दुई कुलाको मुहानमा फेला परेका उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । त्यहाँ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

आज बिहीवार दिउँसो शवको पोस्टमार्टम पछि अन्तिम संस्कार गरिने भएको छ । संगीत संयोजन, प्रशिक्षण र सांगीतिक कार्याक्रम आयोजनामा सक्रिय ५० वर्षीय थुलुङको निधनले पोखरेली संगीतकर्मी स्तब्ध र शोकमा छन् । सोलुखुम्बुको सल्यान नेचा–३ बाट पोखरा गएका उनले सुरुमा संगीत प्रशिक्षण लिएका थिए । त्यसयता उनी प्रशिक्षण केन्द्र सञ्चालन, सांगीतिक कार्यक्रम आयोजना र नयाँ प्रतिभाको खोजी गर्ने काममा सक्रिय थिए । उनले सञ्चालन गरेको तराना म्युजिक सेन्टरले वर्षेनी नयाँ प्रतिभाका लागि सांगीतिक कार्यक्रमको आयोजना गर्दै आएको छ ।

उनले दर्जनौ गीतमा संगीत दिएका छन् । थुलुङ मिलनसार र आफ्नो क्षेक्रमा त्रियाशील व्यक्तित्व भएको संस्कृतिकर्मी तीर्थ श्रेष्ठले बताए । संगीतकर्मी रामभक्त जोजिजुले गाउने, गीतलाई धुनबद्ध गर्ने र नयाँ प्रतिभाको खोजी गरेर मञ्च दिने काम गर्दै आएका थुलुङको असामयिक निधनले पोखरेली सांगीतिक फाँटको बलियो स्तम्भ ढलेको बताए । सँगै एल्बम गरेका अनुराग अधिकारीले थुलुङको क्रियाशीलता सबैका लागि प्रेरक रहेको बताए ।