धरान(डेस्क): एक साताअघि ६ लेन सडकको ड्रेनमा लडेर गम्भीर घाइते भएका पुर्वराष्ट्रिय खेलाडी एवं राखेप सदस्य शम्भु बास्तोलाको आज निधन भएको छ ।
सुनसरीको खनार घर भएका बास्तोला चैत २१ गते निर्माणाधिन जोगवनी किमाथांका सडक खण्डको ड्रेनमा लडेका थिए । ड्रेनमा खस्दा उनको स्पाइनल कर्ड नै क्र्याक भएको थियो । विराटनगरको नोवल अस्पतालमा उपचाररत बास्तोलाको आज बिहान करिब १० बजे मृत्यु भएको अस्पतालले औपचारिकरुपमा जानकारी गराएको एन्फाका मानार्थ वरिष्ठ केन्द्रीय उपाध्यक्ष किसोर राईले जानकारी दिए । ‘घर अगाडि नै ड्रेनमा खसेर बजारिनु भएछ, स्पाइनल कर्ड क्र्याक भएको थियो,’राईले भने,‘अस्पतालले आज बिहान निधन भएको घोषणा गर्यो, नेपाली खेलकुदको लागि यो अपुरणीय क्षति हो ।’
उपाध्यक्ष राईका अनुसार बास्तोलाको आजै बुढीखोलामा अन्त्येष्टी गरिएको छ । मृतक बास्तोला पुर्वराष्ट्रिय खेलाडीकोरुपमा नेपालको प्रतिनिधित्व गर्दै थुप्रै अन्र्तराष्ट्रिय प्रतियोगिताहरुमा भाग लिएका थिए । उनी राष्ट्रिय टिमको गोलकिपर थिए । सन् १९८७ मा भारतको कलकत्तामा आयोजित तेस्रो साफ गेमको फुटबलमा नेपाल दोस्रो हुदा उनी टिमका महत्वपुर्ण खेलाडी थिए । एन्फाको पुर्वकेन्द्रीय सदस्य र राखेपका पुर्वसदस्य पनि भएकोले बास्तोलाको अन्त्येष्टी अघि उनलाई एन्फा र राखेपको झण्डा ओढाइएको थियो । साथै, उनी नेपाली कांग्रेसका क्रियासिल सदस्य पनि भएकोले कांग्रेसको झण्डा पनि ओढाइएको थियो । अन्त्येष्टीमा एन्फाका सहायक महासचिव बसन्त अर्यालसहित मोरङ, सुनसरी, झापालगायतबाट खेलकुदकर्मीहरु पनि पुगेका थिए ।
बास्तोलाको श्रीमति, २ छोरा र एक छोरी छिन् । परिवारजनले बास्तोलाले नेपाली फुटबलमा पुर्याएको योगदानको मुल्यांकन गर्दै उनको नाम स्मरणीय बनाउन एन्फाले केही गरिदिनुपर्ने अपेक्षा व्यक्त गरेको मानार्थ बरिष्ठ केन्द्रीय उपाध्यक्ष राईले बताए । ‘उहाँको ठुलो योगदान छ, त्यसलाई पनि सम्झेर हामीले मरणेपरान्त भए पनि सम्मान गर्नुपर्छ र उहाँको नाममा राष्ट्रिय बर्ष खेलाडीको पुरस्कार दिने हो कि ?’उनले भने,‘ढिला गरियो भने बिर्सन सकिन्छ, अहिल्यै केही न केही निर्णय हुनुपर्छ । एन्फाले पनि केही गरिदिओस्,हामी जिल्लाबासीको नाताले हामी पनि केही योगदान गछौ ।’
तस्बिर स्रोत: दिपक राई
*यसअघि समाचारमा थर बास्तोला हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।