उदयपुर: उदयपुरको लिम्चुङबुङ गाउँपालिका ५ भित्तेढुंगामा आज दिउँसो बोलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
दिउँसो साढे ११ बजे यात्रु लिएर जाँदै गरेको बा ८ च ७७७६ नम्बरको बलेरो गाडी उकालो बाटोमा टर्निङ मोड्ने क्रममा ब्रेक नलागेर पछाडी सर्दा सडकबाट अन्दाजी १० मिटर रल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा बोलेरोमा सवार उदयपुर लिम्चुङबुङ गाउँपालिका ५ का १५ बर्षीय सुरेन्द्र राई, १७ बर्षीय अम्बिका राई, ३२ बर्षीय अर्जुन थापा, रौतामाई ३ का ४० बर्षीय सीता तामाङ घाइते भएका छन् ।

यस्तै, ६० बर्षीय चन्द्र बिक, लिम्चुङबुङ ५ का १६ बर्षीय बिपन ल्वागुन, ३४ बर्षीय साबित्रा परियार, १८ बर्षीय नीता सुवेल र १६ बर्षीय शर्मिला दियाली घाइते छन् । घाइते सवैलाई उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी लिम्चुङबुङ पठाईएको इलाका प्रहरी कार्यालय लिम्चुङबुङले जनाएको छ । बोलेरोका चालक रामेछाप बानकीभण्डार गाउँपालिका ६ बस्ने बर्ष २३ को लाल बहादुर कार्कीलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।