धरान(डेस्क) : प्रदेशका १ को दुई छुट्टाछुट्टै स्थानमा शुक्रबार साँझ सवारी दुर्घटना हुँद दुई जनाको मृत्यु भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–७ मा गाईघाटबाट चुहाडेतर्फ जाँदै गरेको लु ३ त ४४४९ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको लु ४९ प ४०७४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका मोटरसाइकल चालक उदयपुरगढी गाउँपालिका–७ का ३५ वर्षीय कालिन्दा भण्डारीलाई उपचारको लागि धरान स्थित वि।पी।कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा उपचारको क्रममा बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ठक्कर दिने ट्याकटर र चालकलाई अस्थायी प्रहरी पोष्ट चुहाडेको नियन्त्रणमा राखिएको छ ।

यसैगरी, मोरङको सुन्दरहरैचा नगरपालिका–३ त्रियुगा चोकमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २६ प ३०९९ नम्बरको मोटरसाइकल शुक्रबार बेलुका अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटना हुँदा मोटरसाइकल चालक सोही स्थानका ३५ वर्षीय धन कुमार राई गम्भीर घाइते भएका थिए ।

घाइते राईलाई उपचारको लागि विराटनगर स्थित न्यूरो अस्पताल पठाइएकोमा उपचारको क्रममा बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।