धरान: प्रदेश नम्बर १ को मोरङ र उदयपुर जिल्लामा आइतवार भएको आगलागीबाट करिब ११ लाख मूल्य बराबरको क्षति भएको छ ।

मोरङको केरावारी गाउँपालिका १ पाटीगाउँमा मणीराज लिम्बुको काठको बेरा, टिनको छानो भएको २ तले घरमा अपरान्ह ६ बजे बिद्युतको तार सर्ट भइ आगलागी हुँदा घरसहित घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा, अन्नपात र भाडावर्तन जलेर नष्ट हुँदा करिब ७ लाख मूल्य बराबरको क्षति भएको हो । आगो राती ८ बजे प्रहरी र स्थानियवासीको सहयोगमा नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय केरावारीले जनाएको छ ।

त्यसैगरी उदयपुरको ताप्ली गाउँपालिका ४ ठानागाउँ लखनडाँडाका मोहन मगरातीको ढुंगा, माटोले बनेको फुसको छानो भएको २ तलेघरमा चुल्होबाट आगलागी भई घरसहित घर भित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन जलेर नष्ट हुँदा अन्दाजी ४ लाख मूल्य बराबरको क्षति भएको हो । आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।