धरान : नेपाल शेर्पा संघ धरान उपमहानगर समितिमा दातेन्जी गर्जा शेर्पा सर्वसम्मतले अध्यक्षमा चयन गरिएको छ ।

मङ्गलबार धरान १७ स्थित रिन्जु स्मृति भवनमा सम्पन्न चौथो नगर अधिवेशनले नौ सदस्यीय कार्यसमिति चयन गरिएको छ । त्यसैगरी अन्य पदाधिकारीहरुमा उपाध्यक्ष प्रेम गोले शेर्पा, सचिव आङपासाङ खम्बाचे शेर्पा, कोषाध्यक्ष फुर्ली शेर्पा, सदस्यहरु गमछिरी शेर्पा, दावा च्यावा शेर्पा, फुर्दिकी खापा शेर्पा, डोमा लामा शेर्पा पदेन र तेञ्जिङ खापा शेर्पा चयन भएका छन् ।

अधिवेशनको खुलासत्रमा प्रमुख अतिथि नेपाल शेर्पा संघ सुनसरीका जिल्ला अध्यक्ष गेल्बु शेर्पाले सुनसरी जिल्लामा बराहक्षेत्र, इटहरी र धरान गरि तिनवटा नगरपालिकामा संस्थाको संगठन रहेको बताए । संगठन दरिलो बनाउनको लागि हरेक बैशाखको १० गते रिन्जु स्मृति भवनमा उपस्तिथि भएर स्मृति कार्यक्रम गर्नुपर्ने र सोही अनुसार अधिवेशन को मिति समेत तोकिएकोले अनिवार्य उपस्तिथि हुनुपर्ने बाध्यकारी नियम बनाएको र उपस्थित नभए जरिवाना समेतको व्यबस्था समितिले निर्णय गरेको बताए । अधिकार प्राप्त गर्नको लागि समिति तयारी अवस्थामा रहिरहनुपर्ने उनले बताए । देशको संविधानमा समानुपातिक समावेसिको कुरा लेखिए पनि राजा कै पाला जस्तो व्यक्ति विशेष तानेर राखेको र समानुपातिकमा नातागोता भर्ती गरेको आरोप लागाए । अन्तरिम संविधान अनुसार वर्तमान संविधान नभएको बताए । आफू समेत वर्तमान नेकपा समर्थक भए पनि आदिवासीको अधिकार नसमेटिएको अध्यक्ष गेल्बु शेर्पाले बताए।

विशेष अतिथी एवं हिमालयन महायान देछेन छोलिङ गुम्बाका अध्यक्ष ङावा लप्टु शेर्पाले गुम्बा करिब ७,८ करोडको आवास भवन बनिरहेको भन्दै जस्ले पचास लाखसम्म आर्थिक सहयोग गर्छ त्यस व्यक्तिको शालिक निर्माण गर्ने कुरा बैठकले पारित गरेको बताए । रिन्जु स्मृति भवन पनि यसरी नै करिब १५ वर्ष अगाडि बनाएर संस्थालाई उपलब्ध गराएको भन्दै त्यही अनुसार हरेक बैशाख १० गते स्मृति सभा गरिदै आएको बताए । गुम्बामा आवास सहितको सभा भवन स्थापनापछि भाषा लिपिको प्रशिक्षण गरिने भन्दै नगर समितिले धरान उपमहानगरमा भाषा कक्षा संचालनको लागि प्रस्ताव पेश गरेको बताए ।

अधिवेशनको उद्घाटन सत्रलाई समापन गर्दै अबको नयाँ कार्यसमितिले गर्नुपर्ने काम बृहत भएको बताए । ज्ञानको दायरा फराकिलो बनाएर चेतना विकास गराएर लान आवस्यक भएको बताए । उक्त संस्थाको भवन परिसरमा रहेको काठ बेचेर अक्षय कोष स्थापना, पिक्निक स्पोट तथा स्विमिङ पुलको विकास गरेर संस्थालाई आय आर्जनको बाटोमा लान आवस्यक रहेको बताए ।

निवर्तमान अध्यक्ष तेन्जिङ शेर्पाले हरेक बैशाख १० गते रिन्जु स्मृति दिवस सहित प्रथम महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको दिन समेत रहेकोले बैशाख १० गते धरान उपमहानगरको अधिवेशन गरिएको बताए । वर्तमान संविधानमा खस आर्यलाई मात्र संविधानमा लेखेर शेर्पा सहित अन्य समुदायलाई गैरसंबैधानिक जाती बनाएको बताए । शेर्पा समुदायलाई वर्तमान ७ प्रदेशले खण्डित गरेको भन्दै शेर्पा सहितको हिमाली आदिवासीको कलस्टर मिलाएर सिमांकन हुनुपर्ने बताए । संघीयताको खाका अनुसार शेर्पा संघको बिधान तयार पारेर दर्ताको क्रममा रहेको भन्दै वडादेखिको संगठन बनाएर जानुपर्ने बताए । अवको नयाँ समितिको कार्यकाल तीन वर्षको हुने भन्दै आफू लगातार दुई कार्यकालमा रहेको र बिधान अनुसार एक वर्ष थप गरि नौ वर्षको अबधी समाप्त गरेको बताए ।

नेपाल शेर्पा विद्यार्थी मन्चका सुनसरी अध्यक्ष दोर्जी शेर्पाले जातिय संस्थाले धरान नगरपालिकालाई दवाब दिन नसकेको आरोप लगाए । अधिवेशनलाई नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद धरानका अध्यक्ष सुबासचन्द्र हुक्पाचोङ्बाङ, रास्ट्रीय आदिवासी जनजाति महिला महासंघ नगर समन्वय परिषद धरानका अध्यक्ष चन्द्रकला प्रधान, शेर्पा संघ धरानका सल्लाहकार कल्पना शेर्पा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।