धरान(डेस्क) : प्रदेश नम्बर १ को झापा र सुनसरी जिल्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ५ घाइते भएका छन् । झापाको कमल गाउँपालिका ४ चुलाचुली मोडमा पिकअप भ्यान (छोटा हात्ती) दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

मंगलवार बिहान पौने ११ बजे पूर्वपश्चिम राजमार्गमा पूर्व तर्फ जाँदै गरेको बा २१ च ३२२८ नम्बरको भ्यान आँफै अनियन्त्रित भई दुर्घटना हुँदा दमक नगरपालिका ७ बस्ने ६५ वर्षीय महेश साह गम्भीर घाइते भई उपचारको लागि लाईफ लाईन अस्पताल दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

त्यसैगरी भ्यानमा सवार सोही स्थान बस्ने बर्ष ७ की सोफिया तामाङ, दमक १२ बस्ने  २८ वर्षीय  ईन्दिरा मगर, मोरङ लेटाङ नगरपालिका १० बस्ने ११ वर्षीय तुलसा लिम्बु घाइते भई उपचारको लागि लाईफलाईन अस्पताल दमक पठाईएको छ भने दमक नगरपालिका ७ बस्ने ३० वर्षीय सन्त बहादुर तामाङलाई विराटनगर पठाईएको छ । पिकअप र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यसैगरी पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको ईनरुवा नगरपालिका ६ घोपाली टोलमा मंगलवार ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । दिउँसो साढे २ बजे पश्चिम तर्फ आउँदै गरेको ना ५ ख १२३६ नम्बरको ट्रकले पूर्व तर्फ जाँदै गरेको को ५ प ५०३३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाईकल चालक सुनसरी रामधुनी नगरपालिका १ झुम्का बस्ने २६ वर्षीय उमेश चौधरी र पछाडी सवार उदयपुर गाईघाट नगरपालिका १३ पुरानो बजार बस्ने २० वर्षीय को संगम राई घाइते भएका थिए ।

दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा उपचारको क्रममा मोटरसाईकल चालक चौधरीको सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अर्का घाइते राईलाई थप उपचारको लागि विराटनगर पठाईएको छ भने ट्रक र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।