विर्तामोड : भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारीसहित स्थानीयको नाममा झापा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भारतीय नागरिक ३५ वर्षीय भुपाल गुरुङलाई नागरिकता बनाउन सहयोग पुर्याउन सर्जिमिनमा बस्ने स्थानीय, जन्मदर्ता बनाइदिने जनप्रतिनिधि र कर्मचारीको नाममा पक्राउ पुर्जी जारी गरिएको हो ।

भुपाललाई नागरिकता बनाउन सहयोग पुर्याउने काममा फेला परेको कागजात अनुसार वडाध्यक्ष, वडा सदस्य, वडा सचिव, कर्मचारी र स्थानीय गरी १० जनाको नाम उल्लेख छ ।
कचनकवल–२ का कविदास गुरुङ, कविता गुरुङ, सोही ठाउँका गङ्गाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेमप्रसाद तिम्सिना, शिवकुमार दाहाल, वडा सदस्य धनबहादुर गुरुङ, वडा कर्मचारी खगेन्द्रप्रसाद खतिवडा, वडा सचिव हरिप्रसाद गौतम र जन्मदर्ता र वडाध्यक्ष मेखबहादुर भट्टराईको नाममा पक्राउ पुर्जी जारी गरिएको हो ।
उनीहरुलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय बनियानीलाई पत्रचार गरिसकेको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।