झापा : मेचीनगर नगरपालिका–९ मा निर्माणाधीन पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नंं १ ले पर्यटन प्रर्वद्र्धनका लागि बनाउँदै गरेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर शनिबार दिउँसो १५ वर्षीय प्रनिल प्रसाईको मृत्यु भएको हो ।
६ जना साथीसँग पौडी खेल्न पोखरीमा पसेका प्रसाई बाहिर ननिस्किएपछि साथीहरुले घरमा आएर आफ्ना अभिभावकलाई घटनाबारे जानकारी दिएका थिए ।
खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले शवलाई पोखरीबाट बाहिर निकालेको थियो । मृतकका बुवा भानु प्रसाई मेचीनगर नगरपालिकाका पूर्वनगर प्रहरी हुन् ।
समितिका अध्यक्ष मुकेश सुब्बाका अनुसार सामुदायिक वन क्षेत्रमा सीमसार विकास गर्न दुई पोखरी निर्माणाधीन अवस्थामा छन् । निर्मार्णाधीन पोखरीमा वन समितिले पौडी खेल्न प्रतिबन्ध लगाएको भए पनि वनको रेखदेख गर्ने मानिस खाना खान गएको बेला दुर्घटना भएको हो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








































































