पाँचथर:पाँचथरको कुम्याक गाउँपालिका २ सुब्बाटोलस्थित गैरी भन्ने स्थानमा मंगलवार राती ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
कच्ची सडक खण्डमा राती पौने ९ बजे सुब्बाटोलबाट सल्लाको गोलिया काठ बोकेर चौथी बजारतर्फ आउँदै गरेको लु ४ त ६२४ नम्बरको ट्याक्टर उकालो बाटोमा आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३० फिट तल खसेको थियो । दुर्घटनामा चालक पाँचथर याङवरक गाउँपालिका ३ ओयामका २१ बर्षीय सन्तोष राई, सहचालक फिदिम नगरपालिका ९ लुम्फावुङका २० बर्षीय धिरेन राई र सोही ट्याक्टरमा लेवर काम गर्ने फालेलुङ गाउँपालिका ५ प्राङबुङका २० बर्षीय रोशन थाम्सुहाङ घाइते भएका थिए ।
घटनास्थलमा प्रहरी चौकी माङजावुङबाट प्रहरी टोली खटि गई घाइते तीनै जनालाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर पठाईएको थियो । ती मध्ये गम्भीर घाइते थाम्सुहाङको उपचारको क्रममा राती पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । दुर्घटनामा घाईते भएका चालक र सहचालकको सोही अस्पतालामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।