इनरुवा : भारतीय कपडा व्यापारीले नेपाल र भारतको दोहोरो नागरिकता लिएको पाइएको छ । सुनसरीको इनरुवामा कपडा व्यापारी गर्दै आएका छगनलाल शर्माले दोहोरो नागरिकता लिएको पाइएको हो ।
उनले ३४ वर्षको उमेरमा २०३४ सालमा नेपालमा वंशजको नागरिकता लिएका थिए । नेपालको नागरिकता नम्बर ६२५६ र २७१९ रहेका उनको भारतीय मतदाता परिचयपत्र नम्बर आईएक्सक्यू ०३३०५१९ रहेको खुलेको छ । उनको घर भारतको राजस्थानस्थित बेकानेर जिल्ला वडा २७ मा रहेको छ । उनको दिवंगत श्रीमती सुशीलादेवीले पनि नेपालको नागरिकता लिएको देखिएको छ ।

सन् २०१७ मा राजस्थानको बिकानेर जिल्लामा विधानसभा निर्वाचन क्षेत्र नम्बर १३ मा मतदान गरेका उनले नेपालमा पनि मतदान गरेको देखिन्छ । उनले नेपालमा वृद्धभत्तासमेत लिइरहेका छन् ।
उनका तीनजना छोरा र उनीहरूका श्रीमतीको समेत दोहोरो नागरिकता देखिएको छ । छगनलालका छोराहरूले पनि नेपालमा वंशजको नागरिकता लिएका छन् । उनका जेठा छोरा रमेशकुमारले पनि भारतीय रासनकार्ड र नागरिकता लिएका छन् ।
छगनलाल इनरुवाका प्रतिष्ठित व्यापारी हुन् । रेडक्रस सुनसरी, इनरुवा सत्यनारायण मन्दिरलगायत विभिन्न सामाजिक संस्थामा आबद्ध भएर काम गरेका उनले भर्खरै भारतको राजधानी दिल्लीमा नयाँ फल्याट खरिद गरेका छन् ।