धरान: भुकम्प पीडितलाई वितरण गर्ने काठ आफू खुशी विक्री वितरण गरेको भन्दै मोरङका सर्वसाधारणले द टिम्बर कर्पोरेशन नेपाल विराटनगर शाखाका प्रमुख प्रदीपकुमार निरौलामाथि अ्िख्तयार र प्रदेश नं १ का मुख्यमन्त्री कार्यालयमा उजुरी दिएका छन् ।
उनीहरुले दिएको उजुरीमा ०७२ वैसाख १२ मा आएको भुकम्प पीडितका वितरणका लागि छुट्याइएको ६० क्युफिट गोलिया काठ मिलवालासँग मिलेर विक्री गरेको उल्लेख छ । नाम नखुलाउने सर्तमा उजुरीकर्ता मध्येका एक जनाले निरौलाको अनियमितता विरुद्ध ०७६ वैसाख १५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय क्षेत्रीय कार्यालय इटहरीमा उजुरी दिएका थिए । त्यसको दुई दिनपछि वैशाख १७ गते १ नम्बर प्रदेशका मुख्यमन्त्री समक्ष पनि उजुरी दर्ता गरिएको उनले बताए ।
अख्तियारमा उजुरीको दर्ता नं. ३८९२ र मुख्यमन्त्रीको कार्यालयमा दिएको उजुरीको दर्ता नं.८२२ रहेको छ । अनियमितता र भ्रष्टचार यति मात्र होइन, सरकारी रेटभन्दा बढीमा त्यहाँका काठहरु विक्री वितरण गर्ने गरेका छन् । हामीले यस बारेमा समेत उजुरी दिएका छौं, ती उजुरीकर्ताले भने । उनका अनुसार प्रतिक्युफिट २९ रुपैया पर्ने काठ ६० रुपैयामासम्म बेच्ने गरेका छन् ।