धरान:करिब अढाई बर्षअघि २०७३ फागुन १६ गते धरानमा हत्या गरिएकी १३ बर्षीय अनुषा राई हत्या प्रकरणले धरानमा ठुलै तहल्का मच्चायो ।

धरान १६ जोरसखुवा नजिक वलिमान र पदमकुमारी राईले धर्मपुत्री राखेकी अनुषाको रहस्यमय मृत्यु भएको थियो । बिष पिएर मृत्यु भएको भन्दै गुपचुपरुपमा दाहसंस्कार गर्न लागेपछि छरछिमेकले थाह पाएर कारबाहीको माग गर्दै राई दम्पत्ति विरुद्ध आन्दोलन मात्र भएन, उनको घरमा तोडफोड र आगजनीसमेत भयो । प्रहरीले स्थिति नियन्त्रणमा लिन वल प्रयोग गर्नुपरेको थियो । रातभर त्यसक्षेत्र अशान्त बनेको थियो ।

स्थानीयबासीले अनुषालाई यातना दिने गरेको खुलासा गर्दै उनलाई करणी गरेर हत्या गरेको दाबी गर्दै राई दम्पत्तिलाई कारबाही हुनुपर्ने माग गरेका थिए । जनताको चर्को दबाबपछि प्रहरीले श्रीमान् र श्रीमति दुवैलाई कर्तव्य ज्यान(हत्या) र जर्बजस्ती करणीको अभियोग दर्ता गर्यो । जिल्ला अदालत सुनसरीले २०७३ चैत १४ मा राई दम्पत्तिलाई पुर्पक्षको लागि जेल चलान गर्ने आदेश गर्यो । त्यसपछि, यो मुद्दा धरानेहरुबाट ओझेलमा पर्दै गएको थियो । पुर्पक्षमा राख्ने जिल्लाको आदेशविरुद्ध राई दम्पत्तिले पुनरावेदन अदालत र सर्वोच्च अदालतसम्म पुगेपनि मुद्दा हारे । त्यतिमात्र होइन, गत बर्ष २०७५ पुष ३० गते जिल्ला अदालतले राई दम्पत्तिलाई जन्म कैद सजायको अन्तिम फैसला गरेपछि पुनः चर्चामा आएको अनुषा राई हत्या काण्ड विस्तारै सेलाउदै गएको थियो ।

तर, अनुषा राई हत्याकाण्ड मंगलबार फेरी एक्कासी बिउँतियो । कलिलै उमेरमा ज्यान गुमाउन पुगेकी अनुषालाई धरानेहरुले झलझली सम्झिएँ । छरछिमेकीलाई पत्तै नदिई कफिन बक्समा अनुषाको शव हालेर लैजानै लागेका वलिमान र पत्नी पदमकुमारीको छरछिमेकसँगको झगडा, उनीहरुलाई कारबाही गर्न माग गर्दै भएको आन्दोलन, घरमा ढुंगामुढा र प्रहरीको वल प्रयोग यस्ता सबै सबै घटना धरानेहरुमाझ ताजा भयो ।

त्यति मात्र कहाँ हो र, आत्मा बनेर आएकी अनुषाले फक्रिन नपाउदै निमोठिएको आफ्नो कयौं सपना, इच्छा र आकांक्षाहरुबारे आफ्नी साथी रिन्कीसँग गरेको मर्मस्पर्शी वार्तालाप(संवाद) सुनेर धरानेहरु भावुक मात्र भएनन्, आँखामा आँशुले भरिएको थियो । साँच्चै, कति सपनाहरु थिए होलान् अनुषाको ! कति रहरहरु थिए होलान् अनुषाको ! उनले के बिराएकी थिइन्, र कलिलैमा आफ्ना सपनाहरु अधुरै छोडेर अनन्त यात्रामा जानु पर्यो ? आफ्नो सारा सुख,दुःखको कुरा साट्ने प्रिय साथीलाई पनि छोडेर गइन् । मृत्युपछि उनको आत्मा कति छटपटियो होला ? वा कसैसँग साक्षात्कार हुन पाएँ, अनुषाको आत्माले के भन्थ्यो होला ? यही प्रश्नको जवाफ मंगलबार धरानेहरुले पाए ।

IMG_4646

मंगलबार अनुषाको आत्मा र उनको आत्मीय साथी रिन्की बीच ह्ृदयस्पर्शी कुरा भइरहदा धरान ८ स्थित सभागृह हल शान्त थियो । आँधी आउन अघिको शान्ति छाएजस्तो । तर, सभाहलमा भएका सबैको आँखामा भने आँधी चलिरहेको थियो । कतिको आँखाको डिलबाट आँधीरुपी आँशु बग्दै पनि थियो । मंगलबार धरानको युरेका आवासिय माविका विद्यार्थीद्धय खामुना राई(अनुषा) र बिकिशा विष्ट(अुषाको साथी) भएर अनुषा हत्याकाण्डमा आधारित ‘अधुरो यात्रा’ नाटक मञ्चन गरिरहदाको दृष्य हुन् यी । अधुरो यात्रा केवल नाटक मात्र थिएन, अनुषा राईको वास्तविकता थियो । उनको सपनाहरु अधुरै भएको र उनीजस्तै कयौं कलिला सपनाहरु निमोठिइरहेको भन्दै झक्झकाई पनि थियो, यो नाटक ।

IMG_4648

दर्शकहरुलाई भावुक बनाउदै रुवाउने यो नाटकले मंगलबार दर्शकहरुबाट ताली र प्रसंशा मात्र पाएन, धरान प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दोस्रो बाल नाटक महोत्सव २०७६ मा पहिलो पुरस्कार नै हात पार्यो । युरेकाले सहभागी ७ विद्यालयहरुमध्ये उत्कृष्ट नाटक पस्किदै नगद ३५ हजार, ट्रफी र प्रमाणपत्र हात पार्यो भने नाटकका निर्देशक एवं युवा रंगकर्मी शान्तिराम राईले उत्कृष्ट निर्देशकको पुरस्कार वापत १० हजार पाए । निर्देशक राईले पुरस्कार वापत पाएको रकम धरानमा थिएटर हल निर्माणको लागि महोत्सवका संयोजक गोपाल देवानलाई हस्तान्तरण गरेका थिए ।

यस्तै, महोत्सवमा सडक बालबालिकाहरुको पीडामा आधारित धरान १४ स्थित दन्तकाली माविको नाटक ‘उज्यालोतिर’ ले द्धितिय पुरस्कार जित्यो । यो नाटकको निर्देशन कृष्ण तिम्सिनाले गरेका थिए । दन्तकालीले नगद २५ हजार पुरस्कार हात पार्यो । यस्तै, समीट सेकेण्डरी स्कुलका विद्यार्थीहरुको नाटक नयाँ गन्तव्य तेस्रो हुदै नगद १५ हजार र प्रमाणपत्र जित्यो । यो नाटक युवा रंगकर्मी तीर्थराज बराइलीले निर्देशन गरेका थिए । शारदा बालिका नमुना माविको नाटक बालहिंसाले सान्त्वना पुरस्कारवापत नगद १० हजार हात पर्यो । यो नाटक तारा वरालले निर्देशन गरेकी थिइन् ।

महोत्सवका प्रमुख अतिथि एवं सुनसरी क्षेत्र नं १ का सांसद जयकुमार राईले स्कुले विद्यार्थीहरुको नाटक क्षमता र अभिनय हेरेर भावुक भएको प्रतिक्रिया दिए । ‘यस्तो अभिनय गर्लान् भनेर सोचेकै थिइन्, भविष्यका रंगकर्मीहरु आज देखे,’उनले भने । विजेता विद्यालयलाई आयोजक प्रतिष्ठानका अध्यक्ष अम्बिका सम्बाहाम्फे र प्रमुख अतिथि एवं सांसद राईले पुरस्कार वितरण गरेका थिए ।

IMG_4632 IMG_4691 IMG_4677 IMG_4678