धरान:धराने रंगकर्मी तथा कलाकारहरुको पनि मुख्य भुमिका रहेको चलचित्र भुँइफूलको सुटिङ शुरु भएको छ । बराहक्षेत्र नगरपालिका ५ स्थित साविक भरौलमा बिहिबारदेखि सुटिङ शुरु भएको हो ।

एक समारोहबीच अमाह सामुदायिक वन समुहको कार्यालय परिसारमा प्रमुख अतिथि एवं प्रदेश सांसद उमिता बराइलीले एक्सन, वडा नं ५ का अध्यक्ष राजु अधिकारीले क्यामेराको स्वीच अन, कलाकार मनोज शाक्यले क्ल्याप र बराह बिजनेश ग्रुपका प्रमुख प्रशासकीय अधिकृत गंगा कालिकोटेले नरिवल फुटाएर संयुक्तरुपमा फिल्मको सुटिङको शुभारम्भ गरेका थिए ।

IMG_4773

भुमेथान फिल्म प्रोडक्सन प्रालिको प्रस्तुती रहेको चलचित्र भुँइफूलको निर्देशक नेत्र छन्त्याल छन् । रंगकर्मीसमेत रहेका छन्त्यालको यो निर्देशनमा डेब्यु हो । तर, उनले एसिस्टेन्ट डाइरेक्टर र कास्टिङ डाइरेक्टरको रुपमा लामो समय अनुभव लिइसकेका छन् । समाजमा तिरस्कृत, बहिस्कृत भएका भुँइफूलहरुको कथा लेख्न आफुलाई मन पर्ने भन्दै उनले गणतन्त्रमा पनि भुँईफूलहरु बहिष्कृत हुनुपरेको कथालाई पर्दामा उतार्ने प्रयास गरेको बताए । ‘समाजबाट प्रताडित लक्ष्मी परियारहरुको कथा कसैले लेख्दैन, समाचारमा पनि एक कुनामा आउछ । म त्यस्तै भुँइफूलहरुको कथा लेख्न चाहन्छुँ,’निर्देशक छन्त्यालले भने ।
बराहक्षेत्र, धरान, इलाम र काठमाण्डौंमा सुटिङ हुने चलचित्रमा गोविन्द प्रभात, दिपेन्द्र दर्नाल, तुलसा थापा, विष्णु मोक्तान, चन्दा राई, बिक्रम क्षेत्री, नरेन खड्कालगायत कलाकारहरु छन् । द्धन्दको प्रभाव, जातीय एवं सामाजिक विभेद र बहिष्करणमा परेको समुदायको सामाजिक कथाबस्तुमा चलचित्रको रहेको छ । सरिता राईको प्रस्तुती र उर्मिला वान्तवा राई निर्माता रहेको यो चलचित्रको सुटिङ करिब ४५ दिनमा सकिनेछ भने ५० लाख खर्च हुने अनुमान गरिएको निर्देशक छन्त्यालले बताए ।

IMG_4796

प्रदेश सांसद उमिता वराइलीले आफुले पनि धेरै विभेद र छुवाछुत सहनु परेको भन्दै चलचित्र समाजको लागि र समाज रुपान्तरणको लागि उदाहरणीय बन्न सकोस् भन्ने शुभकामना दिइन् । ‘म आफैले पनि पानी लिन जादा घण्टौ पालो कुर्नुपथ्र्यो, र मेरो स्कुल पनि छट्यो । यो विभेदले नै मैले माओवादी जनयुद्धमा होमिए,’आफ्नो जन्मथलोमा उनले भनिन्,‘अहिले हिजोको जस्तो खानपिनमा विभेद छैन, तर नयाँ स्वरुपमा विभेद शुरु भएको छ । दलित केटासँग गैरदलित केटीले विहे गर्दा १ दिन मात्र १८ बर्ष उमेर पुगेन भने वालविवाहको मुद्दा दर्ता गरिदिन्छन् ।’