धरान: खोलामाथि पुल, र पुलमाथि आकाशतर्फ हेर्दा फुलैफुल । आहा..,कत्ति राम्रो ! यो कल्पना हैन, अबको करिब ३ महिनापछि धरान १३ फुस्रेस्थित सर्दु खोलको पुलमा पुग्दा तपाईले साँच्चिकै यो दुष्य देख्न सक्नुहुनेछ ।

आन्तरिक पर्यटक भित्राउने योजना अनुरुप १३ नम्बर वडा कार्यालयले सर्दु खोलाको पक्की पुललाई फ्लावर ब्रिज बनाउन लागेको हो । कुल ६० मिटर लम्बाई ४ मिटर चौडाइ रहेको पुलमा तीन वटा फलामको ट्रष्ट निर्माण गरिदैछ । १२–१२ मिटरको ट्रष्टमा आकाशतिर तारको जाली लगाइदैछ । पुलको दाँया र बाँयातर्फ समेत जाली लगाइदै छ । बगमबेली अर्थात लहरे प्रजाती फुल रोपेर ट्रष्ट माथी झ्याम्मै हुने गरी लगाइने छ । यसरी लहरे प्रजातीको फुल तीनै वटा ट्रष्टलाई ढाक्ने गरी लगाइन्छ । ‘लहरे प्रजातीका फुल रोप्छौं,’धरान १३ नम्बर वडाध्यक्ष नेत्र प्रसाद काफ्लेले भने,‘त्यसले पुलको सौन्दर्य नै अकै देखिन्छ, मानिसहरुलाई लोभ्याउने बनाउछौं ।’

पुलको मध्यभाग छेउको दुबैतर्फ खुल्ला रहने छ । यो पुल शुरुमा कोशी नदिको पुल (भारदह पुल) निर्माणको क्रममा सर्दुखोलाको ढुङगा लान प्रयोग गरिएको घिर्लिङ राखिएकोले वारीपारी गर्नको लागि बनाइएको थियो । जिर्ण अवस्थाको पुलको विच भागमा मानिस जोखिमपूर्ण रुपमा आवतजावत गर्दथे । केही वर्ष अघि मात्र एकिकृत सहरी विकास आयोजना (आयुडीपी)ले खानेपानी योजना शुरु गरेपछि पुलको स्तोरोन्नती गरेको थियो । पुल फराकिलो र दायाबाँया रेलिङ लगाएपछि पुलको मुहार फेरियो । यसपछि वडाले फ्लावर ब्रिजको अवधारण (कन्सेप्ट) अघि सारेको हो ।

sardu

त्यति, मात्र हैन, सर्दु खोलाको पुल तरेपछि अलिक मास्तीर कोशी नदीमा बनेको ब्यारेज तथा पुल निर्माणको क्रममा सर्दुखोलाको ढुङगा लान प्रयोग गरिएको ऐतिहासिक घिर्लिङको अवशेष छ । त्यो फुस्रेको महत्वपुर्ण सम्पदा हो । अब यसलाई संरक्षण गर्नको लागि र ऐतिहासिक क्षेत्रको रुपमा चिनाउनको लागि घिर्लिङको अवशेषमा पनि रेलिङ लगाउने काम भइरहेको छ । कोशी ब्यारेज पुलको ५० वर्षको समयावधि यस अघि नै सकिएको छ । त्यस कारण पनि यसको महत्व बढ्दै गएको हो ।

ऐतिहासिक क्षेत्रको संरक्षण र प्रर्वद्धन गर्ने उद्देश्यले अहिले पर्यटकीय क्षेत्रको रुप दिइदैछ । पुलमुनि ढुंगामा यसअघि नै जोडी सर्प कलाकारहरुले कुँदेका छन् । जुन मनै लोभ्याउने खालको छ । सर्दुजलाधार क्षेत्रभित्र पर्ने करिब ३ विगाहा क्षेत्रफलमा फैलिएको यो क्षेत्रमा ओशो ध्यान केन्द्र पनि छ । धरानको खानेपानीको मुख्य स्रोत पनि भएकोले प्राकृति बस्तुहरुलाई असर नपर्ने गरी प्राकृतिक रुपमा नै पार्कको रुपमा विकास गरिने वडाध्यक्ष काफ्लेले बताए । ‘आन्तरिक पर्यटक भित्राउनको लागि फ्लावर ब्रिजको कन्सेप्ट अघि सारिएको हो’ वडाध्यक्ष काफ्लेले भने ‘अब त्यो संगै आसपासका क्षेत्रलाई पार्कको रुपमा विकास गर्ने छौं ।’

sardu-bridge1

निर्माण भइरहेको ट्रष्टमा बगमबेली जस्ता लहरे प्रजातीका फुल रोपिने उनको भनाइ थियो । संघीय सांसद जयकुमार राईको संसद क्षेत्र विकास कोषबाट आएको २० लाख रुपैयाँ बजेटले यो काम थालिएको हो । वीपी स्मृति पार्क निर्माण समितिका संयोजक चक्र खड्काका हाल फ्लावर ब्रिज र घिर्लिङको अवशेषमा सफा गर्ने र रेलिङ लगाउने कार्य भइरहेको छ । ‘फुस्रेबाट मुख्य प्रबेशद्वारको रुपमा फ्लावर ब्रिज बन्दैछ,’संयोजक खड्काले भने,‘घिर्लिङको अवशेषमा सफाइ गरेर रेलिङ लगाउने काम हुदैछ ।’

घुम्न आउने पर्यटकको लागि दुई वटा बस्ने विश्रामलय पनि बनाउने उनले बताए । निर्माण कार्य आगामी असार मसान्तसम्म सक्ने उनको भनाइ थियो । पूर्व सांसद कृष्ण कुमार राई र मीन विश्वकर्माको सांसद विकास कोषबाट आएको १० लाख रुपैयाँले घिर्लिङ भग्नावशेषमा चढ्नका लागि सिढी यसअघि नै निर्माण भइसकेको छ । करिब ३ विगाहा क्षेत्रमा फैलिएको यस क्षेत्रमा आन्तरिक पर्यटक भित्राउनको लागि अन्या योजनाहरु समेत ल्याउने बताए ।