झापा /  झापाको कमल गाउँपालिका वडा नम्बर २ मा रहेका १२ घर भूमिहीन बाढी पीडितहरुको घर निर्माण भएसँगै नयाँ बस्तीमा खुशियाली छाएको छ ।

२ बर्ष अघि साउन महिनामा आएको भीषण बाढीका कारण विस्थापित बनेका नयाँ बस्तीका बासिन्दा हाल आएर नयाँ घरमा बस्न पाए पछि खुशी भएका हुन् । कमल गाउँपालिका वडा नं २ का १२ घर बाढीपीडितहरु नयाँ घरमा बस्न पाएका छन् । स्थानीय कमल गाउँपालिका सहित विभिन्न संघसंस्थाको सहयोगमा ४० लाखको लागतमा बस्ती निर्माण गरी ८५ जना पीडितको बस्ती निर्माण समितिका अध्यक्ष प्रताव सुब्बाले बताए । २०७४ साल साउनको अन्तिम सातामा भीषण बर्षासँगै आएको बाढीले झापामा १३ जनाको मृत्यु भएको थियो ।

बाढीले ८ सय ११ वटा घर बगाएको थियो भने १ हजार ६ सय २५ वटा घरमा क्षति पुगेको नेपाल रेडक्रस सोसाइटी झापाको तथ्याङ्कमा उल्लेख छ । हालसम्म झापाका ५० घर परिवारमा जस्ता पाता वितरण र ३ सय ५० घरमा रेडक्रस सोसाइटीले शौचालय निर्माण गरी सकेको छ । प्रकोपले धनजनको क्षति पुर्याउनु भन्दा पहिलेनै सरकारले जोखिम क्षेत्रका बासिन्दाको सुरक्षामा ध्यान दिनुपर्ने बाढी पीडितहरुको भनाइ छ ।