धरान : धरान जेसिजद्वारा आयोजित छैठौं संस्करणको टेष्टी–टेष्टी मिस एसईई-२०१९ को उपाधि धरानकी प्रज्ञा भण्डारीले जितेकी छन् ।

धरान-८ स्थित सभागृहमा शनिबार राती सम्पन्न ग्राण्ड फिनालेमा २९ प्रतिस्पर्धीलाई पछि पार्दै भण्डारीले उपाधि जितेकी हुन् । मुख्य निर्णायक पूर्व मिस नेपाल उषा खड्गीले सोधेको ‘अबको ५ वर्षपछि तपाई आफुलाई कहाँ देख्नुहुन्छ ? र किन ? भन्ने प्रश्नको उत्कृष्ट उत्तर दिदै भण्डारीले ताज जितेकी हुन् । उनलाई मिस एसईई २०१८ की विजेता नविना मग्रातीले ताज पहिर्याइ दिएकी थिइन् । मिस ब्यूटिफुल टाइटल अवार्ड समेत हात पारेकी उनले नगद ४० हजार, ट्रफी हात पार्दै धरान आदर्श स्कुलबाट शतप्रतिशत छुटमा प्लस टु पढ्ने अवसर पाइन् । भण्डारी धरानको लोटस विद्या विहारबाट एसईईमा सहभागी भएकी थिइन् ।

miss-seeee

यस्तै, फष्ट रनरअप सिमरन हलवाइ र सेकण्ड रनरअप सिमरन खड्गी बनिन् । उनीहरुले क्रमश : नगद ३५ हजार र ३० हजार रुपैयाँ, ट्रफी प्राप्त गदै धरान आदर्शबाटै प्लस टु अध्ययनको लागि ५०-५० प्रतिश छुट प्राप्त गरे । उनीहरु दुबै जना धरानकै हुन् । फष्ट रनरअप बनेकी हलवाइ धरानको विष्णु मेमोरियल र सेकेण्ड रनरअप बनेकी खड्गी धरानको दिल्ली पब्लिक स्कुलबाट एसईईमा सहभागी भएका हुन । टाइटल अवाडतर्फ सेकेण्ड रनरअप बनेकी खड्गीले बेष्ट ड्रेसको टाइटल अवार्ड समेत हात पारिन् । यसैगरी, मिस इन्टेलेक्च्यूयल रजनी लिम्बु, बेष्ट वाक लोजी लिम्बु, मिस एक्टीभ दिपशिखा लिम्बु, मिस फोटोजेनिक मिङसो लिम्बु, बेष्ट हस्पिटालिटी टनीसा श्रेष्ठ, मिस ट्यालेन्ट सोनिया बजाज, बेष्ट फेण्डसिप सामना राई, बेष्ट फिटनेश अन्सु कार्की, मिस पर्सनालिटी नामलिङमा लिम्बु र बेष्ट डिस्प्लिन अलिस्का रत्न नेपालीले जितिन् ।

मुख्य निर्णायक पूर्व मिस नेपाल (वर्ष २०००) खड्गीसहित निर्णायकहरुमा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष महेश पौडेल, धरानस्थित वीपी प्रतिष्ठानका चिकित्सक सञ्जिब कुमार शर्मा, प्रोफेसर समि लामा, कलावती चोङबाङ रहेकी थिइन् । विजेताहरुलाई टेष्टी-टेष्टी मिस एसईईका मुख्य प्रायोजक क्वालीटी फुड प्रोडक्टका प्रबन्ध निर्देशक श्याम काब्रा, मुख्य निर्णायक पूर्व मिस नेपाल खड्गी, धरान जेसिजका अध्यक्ष मनिष साही, क्रिएटिभ डाइरेक्टर मानभगत चाम्लिङ, जेसिजका पूर्व अध्यक्षहरु मोहन श्रेष्ठ, अतुल श्रेष्ठ, सन्दिप शाक्यलगायतले नगद चेक, ट्रफी तथा गिफ्ट  ह्याम्पर प्रदान गरेका थिए ।

यसैगरी, प्रतियोगितामा सहभागीहरुलाई बराह ज्वेलरी इन्डष्ट्रिज प्रा.लि.ले गिफ्ट  ह्याम्पर समेत प्रदान गरेको थियो । ग्राण्ड फिनालेमा सहभागी ३० प्रतिष्पर्धीलाई उत्कृष्ट १२ हुदै अन्तिम ६ छनौट गरिएको थियो । जसमा ३ जना विजेतासहित कुसुम कट्वाल, मिङसो लिम्बु र सोनिया बजाज परेका थिए । २१ दिनसम्मको बन्दसत्रमा प्रतियोगीहरुलाई क्षमता तथा नेतृत्व विकासको लागि विभिन्न तालिमहरु प्रदान गरिएको थियो । एसईई दिएर घरैमा बसेका यूवतीहरुको नेतृत्व तथा क्षमता विकासको लागि प्रतियोगिता गराउदै आएको धरान जेसिका अध्यक्ष मनिष शाहीले बताए ।