धरान : आइडिया इन्टरनेशनल धरानको आयोजनामा नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालसंग साक्षात्कार कार्यक्रमको आयोजना गरिएको छ ।
धरान मोडल कलेज धरान र गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा २ चरणमा आयोजना गरिएको उक्त कार्यक्रममा धरानका विभिन्न संघसंस्थाका युवा र विद्यार्थीहरुलाई नेतृत्व विकास सम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरिएको थियो । “म गर्छु, म सक्छु भावनाले मात्र परिवर्तन सम्भव छ र परिवर्तनका लागि दृढ अठोट जरुरी छ” भन्ने भावनाहरु व्यक्त गर्दै कट्वालले आफू कुनै पार्टी खोल्ने , राजनिति गर्ने नभई युवाहरुलाई सबल र सक्षम अनि शिक्षित बनाउन सेवा गर्ने बताए । आफ्नो पुख्र्यौली जग्गा बेचेर आएको रकमले स्थापना गरेको आरके ट्रष्टको माध्यमबाट हाल हरेक करिब ५० जना विद्यार्थीहरुलाई निःशुल्क शिक्षा प्रदान गरिरहेको पनि कट्वालले बताए ।
गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा भएको उक्त कार्यक्रमको सभापतित्व आइडिया इन्टरनेशनलका अध्यक्ष विष्णु बरालले गरेका थिए भने कार्यक्रम सञ्चालन दिपेन्द्र निरौलाले गरेका थिए । त्यसैगरी कटवालले धरानको बराह डिपार्टमेन्ट स्टोरको अवलोकन समेत गरेका थिए ।