धरान : भारतको जि टिभीबाट प्रसारण भइरहेको चर्चित रियालिटी शो सारेगमपा लिटल च्याम्पमा टप नाइन(९) मा पुगेका सुनसरीको इटहरी निवासी बाल गायक प्रितम आचार्यलाई जिताउन धरानबाट अभियान शुरुवात भएको छ ।

अडिशन राउण्डदेखि नै उत्कृष्ट गायकी कला प्रर्दशन गर्दै आएका १२ बर्षीय प्रितम विभिन्न चरणमा जजहरुको मन जित्दै टप ९ भित्र पुगेका छन् । यसपछिका चरणहरुमा भोटिङ माध्यम पनि शुरु हुने भएकोले उनलाई जिताउनको लागि गृहजिल्लामा अभियान शुरुवात भएको हो । शनिबार धरान फुटबल क्लबले पत्रकार सम्मेलन गर्दै प्रितमलाई जिताउन अभियान शुरुवातको घोषणा गरेको छ । क्लबका अध्यक्ष किसोर राईले नेपालका बालप्रतिभाले भारतमा गएर गीत, संगीतको माध्यमबाट देशलाई नै विश्वभर चिनाउने काम गरिरहेकोले उनलाई थप प्रोत्साहन गर्न भोटिङ अभियानको शुरुवात गरिएको बताए ।

अध्यक्ष राईले भोटिङको लागि क्लबबाट ५० हजार सहयोग गर्ने घोषणा पनि गरे भने भोटिङ अभियानलाई विभिन्न जिल्लास्थित फुटबल संघ, क्लबहरुसँग समन्वय गरेर व्यापक बनाउने पनि जानकारी दिए । यसको लागि धरान संगीत प्रतिष्ठानसँग सहकार्य हुने पनि उनले बताए । ‘हामी एउटा समिति नै बनाएर अभियान चलाउछौ, प्रचारप्रसार र एक्सपोज गर्न योजना बनाएर अघि बढ्छौं,’उनले भने ।

प्रितमका गुरु तथा संगीत साधना प्रतिष्ठान इटहरीका सचिव राजु केसीले नेपाली बालबालिकाहरुको लागि प्रितम रोलमोडल भएको बताए । प्रितमलाई १ अर्ब बढी मानिसहरुले चिन्न थालेको भन्दै अब प्रितमलाई माया, सहयोग र सद्भावको खाँचो हुने बताए । ‘जि टिभीले प्रितमको प्रतिभालाई चिन्यो, त्यसैले ५ ठाउँमा लाइभ शो गर्दा प्रितम छुटेन । टिभीको प्रोमोमा पनि प्रितम नै पहिला आउछ,’उनले भने,‘प्रितम टप ५ मा अवश्य पुग्छ, त्यसपछि उनलाई जिताउन भोटिङको खाँचो पर्छ, हामी सबैले सहयोग गर्नुपर्छ ।’ धरान संगीत प्रतिष्ठानका सल्लाहकार रमेश राई र ग्रुप अफ बराहका प्रमुख प्रशासकीय अधिकृत गंगा कालिकोटेले पनि प्रितमलाई सक्दो सहयोग गर्ने बताए ।

मेहनत गर्दैछु : प्रितम

IMG_7595

इटहरीका प्रितम हाल भारतको मुम्बईमा छन् । उनी रियालिटी शो सारेगमपा लिटल च्याम्पको टप ९ मा छन् । धरानमा उनलाई जिताउन शुरु भएको अभियान घोषणा कार्यक्रममा फेसबुक म्यासेन्जरमार्फत लाइभ कुराकानी गर्दै प्रितमले आयोजक क्लबलाई धन्यवाद मात्र दिएनन्, मुम्बईमा रहेर नेपाल र नेपालीहरुलाई चिनाउन मेहनत गरिरहेको बताए । ‘मुम्बई मेहनत गरिरहेको छुँ, नेपाल र नेपालीलाई चिनाउन हरसम्भव मेहनत गरिरहेको छुँ,’उनले भने,‘भोटिङ राउण्ड शुरु हुन लागेको छ, सहयोग अभियान शुरु भएकोमा धरान फुटबल क्लबलाई, मलाई सधै साथ दिनुहुने आमा, दिदी र राजु सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।’ उनी हाल बुबासँग मुम्बईमा छन् ।