इटहरी:जिल्ला अदालत सुनसरीका सरकारी वकिलहरु समूदायमा पीडित मानिसहरुका समस्या बुझ्ने उद्देश्यले समुदायस्तरमा पुगेका छन् ।
शुक्रबार इटहरीमा जिल्लाका सरकारी वकिलहरुले समुदायस्तरमा पुगेर समस्या बुझ्ने प्रयत्न गरेका थिए । जिल्ला अदालत सुनसरीका न्यायधिबक्त गोकुल बहादुर निरौलाले समाजमा अपराध बढिरहेको भएपनि खुलेर आफ्ना समस्या नराख्दा पीडितहरु झन् पीडामा परेको बताए । उनले भने,‘अहिले समाजमा भएका अपराधका बारेमा पीडितले खुलेर आफ्ना समस्या नराख्दा पीडित दबिएको अवस्था छ ।’ समस्याका बारेमा समूदायले सोझै अदालतमा जानकारी गराएमा आँफूहरुले अभियुक्तलाई बयान गराउने र आवश्यक प्रक्रिया पुगेको अवस्थामा पीडितलाई न्याय दिलाउने उनको भनाई छ । यही बिषयमा आँफूहरु गाउँ गाउँमा समूदायमा सरकारी वकिल कार्यक्रम लिएर हिडेँको उनले बताए ।

जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले शुक्रबार इटहरीको जनसहयोग माविमा राखेको अन्तक्रिया कार्यक्रममा सहायक जिल्ला न्यायधिबक्ता सुदर्शन निरौलाले समूदायले वकिल के हो भन्ने कुरा नै नबुझेका कारण पनि समस्या भईरहेको बताए । उनले भने, ‘सरकारी वकिल के हो भन्ने कुरा नै नबुझेका कारण सही न्यायका लागि पीडितहरु अभिप्राय छैनन् ।’ सरकारी वकिल पीडितको वकिल रहेको बताउँदै उनले विशेषगरि सुनसरीको धरान र तरहरा क्षेत्रमा बढी लागूऔषधको कारोबार भईरहेको र यहाँ मानव बेचबिखनका घटना बढेको बताए ।
‘पीडितले घटना लुकाउने गरेका छन्,’उनले भने,‘पीडकले प्रलोभनमा पार्ने र धम्की समेत दिनाले पीडित पीडित हुँदै जाने अवस्था रहेको छ ।’ आँफूहरुले पाउने भत्तावापतको रकम समेत पीडितलाई उपलब्ध गराउने उनले सुनाए । पीडितले बोल्न डराउने, सहि सत्य कुरा नबताउने जस्ता समस्या रहेको उनलले खुलाए । कार्यक्रममा जिल्ला सहायक न्यायधिबक्ता अनिल रेग्मीले एक आर्थिक बर्षको ११ महिनाको अवधिमा जिल्लामा १ हजार ३ सय ६० वटा मुद्दा दर्ता भएको र एउटै केसमा ३ सय ८७ जनाले उजुरी गरेको तथ्याङ्क रहेको बताए । सुनसरीमा विशेषगरि लागूऔषध, कर्तब्य ज्यान, ठगी, कृते गरि अरुकै नाममा रहेको जग्गा आफ्नोमा बनाउँने जस्ता मुद्दा रहेको उनले बताए ।